Hikmat Acharya
  • १५ साउन २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

दार्चुला अदालतमा न्यायाधीश पाण्डेको बदमासी, कर्मचारीको सामूहिक उजुरी


धनगढी : दार्चुला जिल्ला अदालतका १३ कर्मचारीले न्यायाधीश पुष्पराज पाण्डेविरुद्ध सामूहिक रूपमा उजुरी दिँदै उनलाई अनुशासनहीन र बदमासीपूर्ण व्यवहार गर्ने व्यक्ति भन्दै उजुरी गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्याय परिषद् सदस्य सपना प्रधान मल्ललाई बोधार्थ पठाइएको सो पत्रमा पाण्डेसँग काम गर्न असम्भव भएको उल्लेख छ।

उजुरीपछि प्रधानन्यायाधीश राउतले पाण्डेलाई तत्काल जिम्मेवारीमुक्त गर्दै काठमाडौं तान्नुभएको छ भने न्याय परिषद्मार्फत प्रारम्भिक छानबिन सुरु भएको छ।

पाण्डेका अघिल्ला फैसलासम्बन्धी राय किताबको प्रतिलिपि झिकाएर अध्ययन भइरहेको स्रोतहरू बताउँछन्।

सर्वोच्च अदालतका एक स्रोतका अनुसार पाण्डे मिसिल च्याम्बरमा लैजाने, मुद्दाका पक्षसँग बार्गेनिङ गर्ने र पैसा वा सिफारिस नआएसम्म फैसला नगर्ने अभ्यासमा थिए।

‘३ वर्ष कैद हुने मुद्दामा १० वर्ष ठोकिदिन्छु भनेर धम्क्याउँदै बार्गेनिङ गरेको भेटिएको छ,’ स्रोतको भनाइ छ।

यस्तै, अर्को मुद्दामा उनले २५ हजार रूपैयाँ बार्गेनिङमार्फत लिएको दाबी उजुरीकर्ताहरूले गरेका छन्।

पैसा नदिएसम्म फैसला नदिने उनको शैलीले अदालतमा व्यापक असन्तोष सिर्जना गरेको उजुरीमा उल्लेख छ। स्रेस्तेदार मदनप्रसाद जयसवालसँग उनको सम्बन्ध खासै राम्रो थिएन।

फरक-फरक निर्देशन, बिल स्वीकृतिमा असहमति, र कार्यालयमै गुटबन्दीको वातावरणका कारण कर्मचारीहरू मानसिक तनावमा परेका थिए।

उजुरीमा भनिएको छ, ‘कहिले न्यायाधीश रिसाउँछन्, कहिले स्रेस्तेदार रिसाउँछन्, हामी कर्मचारी असहज स्थितिमा पर्छौं।’

५४ वर्षीय पाण्डे २०६६ साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए।

विशेष अदालत काठमाडौं र बाजुरा जिल्लामा काम गरिसकेका उनी २०८० चैत २३ गते दार्चुला जिल्ला अदालतका न्यायाधीश नियुक्त भएका थिए।

हाल उनीमाथि सर्वोच्च अदालत र न्याय परिषद्ले प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode