Hikmat Acharya
  • ६ असार २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

पीएकै कारण रामेश्वरको मन्त्री पद संकटमा !


डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारभित्र सत्तारुढ दलहरूबीचको असमझदारी गहिरिँदै जाँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी विवादको केन्द्रमा परेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रतिनिधित्व गर्दै मन्त्री बनेका हुन्।

तर, उनले राजीनामा नदिने स्पष्ट पार्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् र मुख्यमन्त्रीलाई आफूलाई बर्खास्त गर्न चुनौती दिएका छन्।

मुख्यमन्त्री शाह यसअघि पनि नाउपाका लक्ष्मण किशोर चौधरीलाई भ्रष्टाचारको आरोपमा राजीनामा दिन बाध्य गराइसकेका थिए।

अहिले मन्त्री चौधरीमाथि कृषिमन्त्री हुँदा किसानहरूबाट पावर टिलर वितरणको नाममा रकम उठाएको र त्यसबारे अख्तियारमा उजुरी परेको भनिए पनि स्रोतका अनुसार वास्तविक कारण अर्कै हो।

चालू आर्थिक वर्षको बजेटमा योजना पारिदिने नाममा मन्त्री चौधरीका स्वकीय सचिव नविन थापाले ठूला रकमको कमिसन उठाएको प्रमाण मुख्यमन्त्रीकहाँ पुगेको बताइएको छ।

मुख्यमन्त्री शाहले आफू सुशासनयुक्त बजेट बनाउने भन्दै २५ लाखभन्दा मुनिका योजना नल्याउने घोषणा गरेका थिए। तर, त्यही सरकारका मन्त्रीका स्वकीय सचिवले योजनामै व्यापार गरेको थाहा पाएपछि उनी आक्रोशित बनेका छन्।

नविन थापाले मन्त्रालयका योजना १० प्रतिशत कमिसनमा खुलेआम बिक्री गरेको आरोप लागेको छ।

धनगढीका चोकचोकमा योजना बिक्री भएको चर्चा छ भने अछामका माओवादी पृष्ठभूमिका एक नेताले योजना खरिद गरेको आफूले देखेको बताएका छन्।

थापाले आफूलाई रेशम चौधरीको “मामा” साइनो जोड्दै प्रभाव बढाएको र मन्त्रीका निर्णयहरूमा समेत हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको छ।

मुख्यमन्त्रीले खप्तड पर्यटन विकास समितिमा आफ्ना मान्छे नियुक्त गर्न खोज्दा मन्त्री चौधरीले उल्टै थापाका निकट खेमराज जोशीलाई नियुक्त गरेपछि विवाद अझै चर्किएको थियो।

त्यसपछि मुख्यमन्त्री र मन्त्रीबीचको सम्बन्धमा चिसोपन आएको थियो। थापाले मन्त्रीलाई नै जानकारी नदिई निर्णय गराएको, र विरोधमा परे आफूलाई हटाइदिने धम्की दिन थालेको आरोपसमेत छ।

यसअघि राजीनामा दिएका लक्ष्मण किशोर चौधरी र एक ठेकेदारबीचको कुराकानीको अडियो रेकर्ड गरेर मुख्यमन्त्रीकहाँ पुर्‍याउने काम पनि थापाकै हो भन्ने आरोप नाउपाका नेताहरूले लगाउँदै आएका छन्।

पार्टीभित्र व्यापक असन्तुष्टि रहे पनि उनले रेशम चौधरीको नाम प्रयोग गरी आफूलाई सधैं सुरक्षित बनाउँदै आएको बुझिन्छ।

नविन थापा सुदूरपश्चिम प्रदेशका तत्कालीन सभामुख अर्जुनबहादुर थापाका भतिज हुन्। एक समय प्रदेश सभा सचिवालयमा चालक रहेका थापा एमालेमा संलग्न थिए।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा उदाएपछि उनले पार्टी परिवर्तन गरी नाउपामा प्रवेश गरे र अहिले रेशम चौधरीसँग नाता जोड्दै केन्द्रीय सदस्य समेत बनेका छन्।

पार्टीभित्रै थापा र मन्त्री चौधरीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि देखिएको छ।

सुशासनको नाममा चर्को प्रचार गरिए पनि आन्तरिक रूपमा मन्त्रालयमा नै भ्रष्टाचारको गन्ध आउन थालेपछि मुख्यमन्त्री नै असहज स्थितिमा परेको स्रोत बताउँछ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode