कैलालीको जानकी गाउँपालिकामा खुट्टाको औंठा छाप गरेर करोडौं अपचलन !

धनगढी : कैलालीस्थित जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा करोडौं रुपैयाँ अपचलन भएको खुलासा भएको छ।
तत्कालीन वडाध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाको मिलेमतोमा मृतक, उमेर नपुगेका, दोहोरो–तेहेरो भत्ता लिने नक्कली लाभग्राही बनाई खुट्टाको औंठाछाप प्रयोग गरी भत्ता वितरण गरिएको पाइएको छ।
आठ करोड ९२ लाख रुपैयाँभन्दा बढीको अनियमितता भएको सामाजिक अभियन्ता कृष्ण सोडारीको आरोप छ।
सोडारीले आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्मको अनियमितताबारे प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा २०७९ साउनमा उजुरी दिएका थिए।
सो उजुरी २०८१ जेठमा आयोगको केन्द्रीय कार्यालय, काठमाडौंमा सरुवा गरिएको थियो।
अख्तियारले हालसम्म मृतकका नाममा भत्ता लिइएको, एउटै नागरिकता नम्बरमा फरक नाम राखेर पटकपटक भत्ता लिएको, एकल महिला भत्ता समेत ठगी गरिएको लगायतका प्रमाण संकलन गरी छानबिन अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ।
सामाजिक सुरक्षा कार्यविधि २०७७ अनुसार कानुनविपरीत लाभ लिने वा दिलाउने कार्यमा संलग्न व्यक्ति वा कर्मचारीमाथि कारबाही हुने प्रावधान छ।
सोहीअनुसार सोडारीले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गर्न अख्तियारसँग माग गरेका छन्।
उनका अनुसार अनुसन्धान प्रक्रिया ढिलो हुँदा प्रमाण लोप हुने र दोषी उम्किने खतरा बढेको छ।
सोडारीसहित अभियानकर्ताहरूले २०८० भदौ ४ गते तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत भेटेर विषयमा जानकारी गराएका थिए।
कार्यविधिको दफा ३३ अनुसार दोहोरो सुविधा लिने, मृतकका नाममा भत्ता लिने, झूटा विवरण पेस गर्ने जस्ता कार्यमा संलग्नहरूबाट असुलउपरसहित जरिवाना लिने व्यवस्था छ।
यस्ता कार्यमा संलग्न जनप्रतिनिधि वा कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा चलाइने प्रावधान रहेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया