अछाममा निःशुल्क औषधी निजी क्लिनिकमा बिक्री, अनमी संलग्न !

अछाम: सरकारद्वारा सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराइने औषधी स्थानीय स्वास्थ्य संस्थाकै एक स्वास्थ्यकर्मीले निजी क्लिनिकमार्फत बिक्री गर्दै आएको तथ्य सार्वजनिक भएको छ।
घटनाबारे थप चर्चा त्यतिबेला सुरु भयो जब स्थानीय मानबहादुर विकले रु १५० तिरेर औषधी किनेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे।
भिडियोमा विकले मौला नजिकैको एक निजी क्लिनिकबाट औषधी खरिद गरेको देखिन्छ, जहाँ स्वास्थ्य संस्थाकी अनमी शान्ति रावल संलग्न रहेको आरोप लागेको छ।
स्रोतका अनुसार, बिक्री गरिएको औषधी स्वास्थ्य चौकीमार्फत निःशुल्क वितरण गरिनुपर्ने हो। तर, ती औषधी स्वास्थ्य चौकीबाटै निकालेर निजी क्लिनिकमा बिक्री गरिएको आशंका गरिएको छ।
यता, स्वास्थ्य चौकीका इन्चार्ज नवीन खत्रीले भने औषधी बिक्रीको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार ती अनमीले कुनै पनि बिरामीसँग पैसा नलिएको दाबी छ।
तर, विवाद गहिरिँदै गएपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाउने तयारी भइरहेको जानकारी खत्रीले दिएका छन्।
यसैबीच, स्थानीय बासिन्दाहरूले यस घटनालाई गम्भीर लापरबाही र जनस्वास्थ्यमा खेलबाडको संज्ञा दिएका छन्।
उनीहरूले दोषीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया