नवदुर्गाका अध्यक्ष लक्ष्मीप्रसादका भाइ ‘पीए’, डेढलाख बढी तलब खाए

धनगढी : डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव (पीए) राखेको पाइएको छ।
पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सहोदर भाइ दीपेन्द्रप्रसाद अवस्थी र उपाध्यक्ष निर्मला बिष्ट बोगटीले परिवारकै सदस्य दिनेशबहादुर बिष्टलाई स्वकीय राखेका हुन्।
महालेखाको प्रतिवेदन २०८०/८१ मा नियमविपरीत दुई व्यक्तिलाई स्वकीय सचिवका रूपमा तलब भुक्तानी गरेको देखाएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नियमविपरीत गरिएको खर्च ४ लाख ३७ हजार ५ सय ७० असुल गर्नुपर्ने उल्लेख छ।
प्रदेशसभा सदस्य तथा पदाधिकारीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार स्वकीय सचिव नियुक्त गर्न सकिने व्यवस्था भए पनि नवदुर्गा गाउँपालिकाले कानुनी प्रक्रिया नअपनाई दीपेन्द्र र दिनेशलाई स्वकीय सचिवका रूपमा तोकी श्रावणदेखि फागुन महिनासम्म तलब भुक्तानी गरेको हो।
उक्त समयमा दिपेन्द्रले १ लाख ६० हजार र दिनेशले २ लाख ७७ हजार ५ सय ७० रुपैयाँ लिएका छन्।
महालेखाले यस्तो कार्य ऐन विपरीत भएकाले खर्च असुल गर्नुपर्ने र यस्ता अनियमितता रोक्न सुधारात्मक कदम चाल्नुपर्ने स्पष्ट गरेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
ट्याग : #उपमेयर निर्मलाका पीएले लिए अढाइ लाख
प्रतिक्रिया