Hikmat Acharya
  • ३१ जेठ २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछामको चाैरपाटीमा कोदोसँग चामल साट्ने कार्यक्रममा ६ लाख बढी हिनामिना !


अछाम : चौरपाटी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको कोदो–चामल साट्ने कार्यक्रममा आर्थिक अनियमितता देखिएको छ।

२०७९ मंसिर २५ गतेको कार्यपालिकाको निर्णयअनुसार सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत ६ लाख ४५ हजार ७०२ रुपैयाँ हिनामिना भएको हालै सार्वजनिक भएको महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनमा उल्लेख छ।

महालेखाका अनुसार गाउँपालिकाले श्री श्याम खाद्य स्टोरबाट १०० क्विन्टल चामल खरिद गरी ६ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको थियो।

तर तीमध्ये ६४२ किलो चामल बाँकी राखी बाँकी चामल कोदोसँग साटिएको देखिएको छ।

कोदो भने गाउँपालिकामा मौज्दात नरहेको र कोदो बिक्रीबाट भएको आम्दानी आन्तरिक राजस्व खातामा दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ।

बाँकी ६४२ किलो चामल विपद्‌मा परेका नागरिकलाई वितरण गरिएको विवरण पेश गरिएको छ।

महालेखाका अनुसार कोदो–चामल साटासाट गर्दा अनुपात निर्धारण नगरी साटिएको छ, जुन प्रक्रियागत त्रुटि हो।

६४२ किलो चामलको मूल्य ४४ हजार २९८ रुपैयाँ घटाएर बाँकी ६ लाख ४५ हजार ७०२ रुपैयाँ बराबरको कोदोको आम्दानी राजस्व खातामा दाखिला गर्न महालेखाले निर्देशन दिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode