आलितालमा अध्यक्षदेखि सदस्यलाई पोशाक, साढे तीनलाख स्वाह !

धनगढी : आलिताल गाउँपालिकाले ४३ जना जनप्रतिनिधिका लागि ३ लाख ८१ हजार रुपैयाँ बराबरको पोशाक खरिद गरी वितरण गरेको खुलेको छ।
पालिकाले लाटो डाँड गार्मेन्ट उद्योगमार्फत झन्डै ३ लाख ८१ हजार रुपैयाँ बराबरको पोशाक खरिद गरी वितरण गरेको खुलेको हो।
तर, सो खर्च कानुनी प्रावधानविपरीत भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
पोशाक खरिद गर्नेमा पालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैना कुमारी रावल (बोहरा), ८ वटै वडाका वडाध्यक्ष र सदस्यहरू रहेका छन्।

उनीहरूले जनहि ८ हजार ८ सय ८३ रुपैयाँ बराबरको पोशाक खरिद गरेका हुन्।
सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनको दफा २(१) तथा अनुसूची १(क) अनुसार गाउँपालिका अध्यक्षलगायत पदाधिकारीहरूलाई पारिश्रमिक, बैठकी भत्ता, भ्रमण भत्ता जस्ता सुविधा उल्लेख भए पनि पोशाक सम्बन्धी कुनै व्यवस्था गरिएको छैन।
यद्यपि पालिकाले कानुनी आधार विना पोशाक खरिद गरी ३ लाख ८१ हजार ९६९ भुक्तानी गरेको पाइएपछि महालेखाले उक्त रकम असुल उपर गर्नुपर्ने सुझाव दिएको छ।
पोशाक खरिद गर्दा आवश्यक निर्णय प्रक्रिया, बजेट स्वीकृति वा सार्वजनिक खरिद ऐनअनुसारको प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको प्रमाण पनि फेला परेको छैन।
महालेखाले पालिकाले मनोमानी ढंगले नियमविपरीत खर्च गरेको भन्दै यो कार्य वित्तीय अनुशासनविपरीत रहेको टिप्पणी गरेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया