Hikmat Acharya
  • ३० जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

खेलाडीमाथी खेलवाड गर्दै सुदूरपश्चिम क्रिकेट संघ : छनौट नभएका खेलाडी मैदानमा

बैकल्पिक खेलाडीहरु हेरेका हेर्यै !


धनगढी । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा काठमाडौंमा जारी १४ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश टिमले नियम विपरीत चयनमा पर्दै नपरेका खेलाडीलाई मैदानमा उतारेको पाईएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकोबाट सिफारिस नगरिएका खेलाडीलाई टोलीमा समावेश गरी सिधै खेल मैदानमा पठाएको पाईएको हो ।

मंगलवार त्रिवि क्रिकेट मैदानमा मधेशविरुद्धको खेलमा सुयोग्य शाह नामक खेलाडी प्लेइङ ११ मा सहभागी गराइएको थियो। जबकि शाहको नाम न त प्रारम्भिक १४ जनामा थियो, न त चार वैकल्पिकसहितको १८ सदस्यीय टोलीमा।

छनौट सूचीबाहिरको खेलाडीलाई सोझै खेल खेलाउने कार्य नियम बिपरित हुने नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दास बताउछन् ।

छनौटमा पर्दै नपरेका खेलाडीलाई सोझै खेल खेल्न लगाउनु नितान्त अनुचित र नियमविपरीत कार्य रहेको जानकारहरुको मत छ । यसले अन्य वैकल्पिक खेलाडीको अधिकार खोसिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का तर्फबाट खटाईएका टेक्निकल म्यानेजर प्रवल गौतमलाई छनौटमा नपरेका खेलाडीलाई मैदानमा पठाईएको बिषयमा बुझ्न टेलिफोन गर्दा उनले केही बेरमा खवर गर्ने बताएका थिए । हाल उनलाई टेलिफोन गर्दा उनको फोन उठेन ।

बैकल्पिक खेलाडी हेरेका हेर्यै !

खेलमा स्थान पाउन प्रदेश छनौटमा परेर बैकल्पिकमा रहेका वैकल्पिक खेलाडीहरू दर्शक बनेर बस्न बाध्य भए। तर छनौटमै नपरेका शाहलाई मैदानमा उतारिँदा उनीहरू मनोवैज्ञानिक रूपमा हतोत्साहित भएको पाइन्छ।

यस विषयमा सुदूरपश्चम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले भने आफूलाई जानकारी नभएको बताउदै खेलाडी छनौटको जिम्मा पूर्ण रूपमा प्रदेश सचिव लक्ष्मण भट्टलाई दिइएको बताएका छन् ।

सचिव लक्ष्मण भट्टसँग सम्पर्क गर्न खोज्दा उनको फोन स्विच अफ रहेको थियो।

टिममा रहेका खेलाडी बिरामी भएमा वा कुनै समस्या आईपरेमा,घाईते भएमा बैकल्पिक खेलाडीहरु पहिलो हकदार हुन्छन् । यसअघिका क्रिकेट खेलमा समेत यहि अभ्यास हुँदै आएको छ । तर सुदूरपश्चिमको टिमले भने स्थापित मान्यता र बिधिलाइ नै चुनौती दिएको छ ।

क्यानको प्रदेश नेतृत्व छायाँमा : निर्णय प्रक्रिया अपारदर्शी

क्यान सुदूरपश्चिमका अध्यक्ष वासुदेव जोशी पनि विगतदेखि नै छनौट प्रक्रिया लगायतमा भुमिकाबिहिन रहद‌ै आएका छन्। उनले यसअघि नै आफू छनौटसम्बन्धी विषयमा बेखबर रहेको जनाएका थिए। स्रोतहरूका अनुसार सचिव लक्ष्मण भट्टमाथि क्यानका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दको आडमा व्यक्तिगत मनपरी गर्ने गरेको आरोप पनि लाग्दै आएको छ।

यस्ता गतिविधिले क्यान सुदूरपश्चिममा पारदर्शिता, जवाफदेहिता र नियम पालना कमजोर रहेको देखाएको छ। साथै परिश्रमी र योग्य खेलाडीहरूको मनोबलमा गम्भीर आघात पुर्‍याएको छ।

छनौटमा पर्दै नपरेका खेलाडी मैदानमा पठाइएको घटनाले एकातिर चयन समितिको निर्णय पारदर्शी थियो कि थिएन भन्ने प्रश्न खडा गरेको छ भने अर्कातिर  कसको मिलेमतोमा वैकल्पिक खेलाडीको हक खोसियो भन्ने पश्न उव्जिएको छ ।

खेल क्षेत्रको विश्वसनीयता जोगाउन यस्ता अनियमितताको अन्त्य हुनु अपरिहार्य छ।

यो पनि :

सुदूरपश्चिम यू–१४ छनोटमा चलखेल : चन्दको आडमा भट्टको रजाइँ


क्याटेगोरी : खेलकुद, पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode