जयगढ आगलागी पीडितका लागि राहत पाउने बाटो खुल्यो, कार्यविधि पारित

अछाम । बान्नीगढी जयगढ गाउँपालिका–३ र ४ मा पर्ने ऐतिहासिक जयगढ बजारमा गएको चैत २६ गते भएको भीषण आगलागीबाट प्रभावित पीडितहरूका लागि अब राहत पाउने बाटो खुलेको छ।
गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि, २०८१’ पारित गर्दै पीडितलाई राहत दिने औपचारिक प्रक्रिया सुरु गरेको छ।
उक्त कार्यविधि अनुसार आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरूलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले बताएका छन् ।
कार्यविधि पारित भएसँगै गाउँपालिकाले उक्त निर्णयलाई स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ।
पीडित परिवारका घाउमा मलम लगाउन प्रतिवद्ध रहेको बताउदै उनले कुनै पनि वास्तविक पीडित राहतबाट वञ्चित नहोस् भन्नेमा सचेत रहेको बताएका छन् । उनका अनुसार कार्यविधिको आधारमा निष्पक्ष रूपमा राहत वितरण गरिनेछ
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत वसन्त बहादुरले पीडितहरूले अब गाउँपालिकासँग सम्पर्क राखी राहतका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्ने बताएका छन् ।
गएको चैत २६ गते भएको आगलागीबाट जयगढ बजारमा ठुलो मात्रामा भौतिक तथा आर्थिक क्षति पुगेको थियो। राहतको कार्यविधि पारित भएसँगै पीडितहरूमा केही आशा जागेको छ।
जयगढका आगलागी पिडितहरुका लागि सुदूरपश्चिम प्रदेश सरकारले नगद ५० लाख उपलव्ध गराईसकेको छ भने गाउँपालिकाले ६ लाख बजेट बिनियोजन गरेको थियो । विभिन्न व्यक्ति,राजनितिक दल तथा संघ संस्थाले पनि गाउँपालिकाको कोषमा रकम जम्मा गरेका छन् ।
कार्यविधि हेर्न यहाँ क्लिक गर्नुहोस्

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया