Hikmat Acharya
  • २९ जेठ २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम यू–१४ छनोटमा चलखेल : चन्दको आडमा भट्टको रजाइँ


धनगढी : काठमाडौंमा सुरु भएको १४ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अनियमित र भेदभावपूर्ण रूपमा खेलाडी छनोट गरिएको आरोप लागेको छ।

प्रदेशका आठै जिल्लाबाट प्रारम्भिक छनोट गरी प्रतिस्पर्धात्मक विधिबाट खेलाडी चयन गर्नुपर्ने भए पनि सिधै ‘नाम टिपेर’ खेलाडी पठाइएको आरोप लागेको हो।

सुदूरपश्चिमबाट पठाइएका अधिकांश खेलाडी बैतडी र कञ्चनपुर जिल्लाका छन्।

कोटा प्रणाली लागू गर्दै कैलालीलाई ४, कञ्चनपुरलाई ५, बैतडीलाई ४ र अन्य अधिकांश पहाडी जिल्लालाई ३–३ जनाको कोटा दिइएको थियो।

तर, प्रारम्भिक कोटा प्रणाली पछि अन्तिममा राष्ट्रिय टोली छनोट गर्दा अन्य जिल्लाबाट एक/एक जना, बैतडी र कञ्चनपुरबाट अधिकांश खेलाडी छनोट गरिएको आरोप छ।

लाजमर्दो विषय केछ भने छनोटका लागि गठन गरिएको वैधानिक  समिति नै खेलाडी छनोट बारे बेखबर छ।

छनोट समितिका संयोजक दीपेन्द्र भण्डारी आफू बुटवलमा रहेको र  छनोटबारे केही जानकारी नभएको बताउँछन्।

अन्य दुई सदस्यले पनि छनोटमा सहभागी नभएको र नामहरु कसरी तय भए ? भन्ने बारे अनविज्ञ रहेको प्रतिक्रिया दिए।

क्यानका एक जिल्ला अध्यक्ष भन्छन्, छनोट प्रक्रिया हेर्दा लाग्छ। यहाँ प्रतिभा होइन, पहुँच नै मुख्य आधार बनाइएको छ।

त्यति मात्रै होइन, टिमको प्रशिक्षकमा  धिरेन्द्र चन्द र म्यानेजरमा राजेन्द्र चन्दलाई राखिएको छ। यी दुबै पनि बैतडीकै हुन्

चन्दको नाममा भट्टको रजाइँ

छनोटको नेतृत्व सुदूरपश्चिम क्रिकेट संघका सचिव लक्ष्मण भट्टले गरेका छन्।

उनी क्यान अध्यक्ष चतुरबहादुर चन्दका नजिकका मानिन्छन्।

बैतडी घर भएका चन्दको आडमा  क्यान सुदूरपश्चिमका लाभका कार्य, कर्मचारी नियुक्ति र खेलाडी छनोटमा सचिव भट्ट लगायतले भेगीय गतिविधि गर्ने गरेको आरोप यसअघि देखि नै लाग्दै आएको छ।

चन्द र भट्ट कञ्चनपुर क्रिकेट संघ अध्यक्ष विरेन्द्र चन्द (तीनै जना बैतडी मूलका) को मिलेमतोमा भेगीय पक्षपातपूर्ण छनोट भएको आरोप लागिरहेको छ।

यश विषयमा बुझ्न भट्टलाई फोन गर्दा उनको फोन उठेन्।

जहिल्यै विवाद

सुदूरपश्चिम प्रदेशबाट अनियमित र भेदभावपूर्ण रूपमा खेलाडी छनोट हुने यो पहिलो घटना होइन।

छनोट प्रक्रियामा ब्याटिङ र बलिङमा उत्कृष्ट गरेका खेलाडी टोलीमा नअटाएको भन्दै  पटकपटक विवाद हुँदै आएको छ।

यसअघि लमहीमा भएको प्रतियोगितामा त दुई कप्तान एकै पटक टस गर्न मैदानमा उत्रिएपछि विवाद सतहमा आएको थियो।

क्यान अध्यक्ष चतुरबहादुर स्वयम् उपस्थित उक्त प्रतियोगीतामा उनले ब्याक गराउन चाहेका कप्तानले ब्याक हुन नमानेपछि उनी फायर भएका थिए।

छनोटमा पारदर्शिता र निष्पक्षता नभएको, प्रतिभाको होइन पहुँचको आधारमा खेलाडी चयन गरिएको भन्दै प्रशिक्षक तथा खेलाडी आक्रोशित छन्।

क्यान सुदूरपश्चिम अध्यक्ष बासुदेव जोशीले छनोट बारे आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका थिए।

यू-१६ मा पनि पैसाको खेलोमेलोको आरोप

कर्णाली प्रदेशको सुर्खेतमा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोट गर्दा समेत  खेलाडी चयन प्रक्रियामा  आर्थिक चलखेल र पक्षपातपूर्ण  गरिएको आरोप लागेको थियो।

फााइनलमा पुगेको डडेल्धुराको टोलीबाट एकजना मात्रै खेलाडी टोलीमा परेपछि डडेल्धुरा क्रिकेट संघले विज्ञप्तिनै सार्वजनिक गरेको थियो।

पैसाको खेलोमेलोमा खेलाडी छनोट गरेको आरोप लागेको सुदूरपश्चिमको यू-१६ टोलीले खराब प्रदर्शन गरेको छ।

तीन खेल खेलेको सुदूरपश्चिमले दुई खेलमा लज्जास्पद हार व्यहोर्नुपरेको छ।

काठमाडौंमा आज भएको यू-१४ खेलको पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेेको छ

नेपाली क्रिकेटको उर्वर भूमि हो, सुदूरपश्चिम।

तर, पछिल्लो समय राम्रा खेलाडीभन्दा पनि हाम्रो खेलाडी छान्ने प्रचलन हावी हुँदा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन्।

आफ्नो जीवन र करियर दाउमा राखेर मेहनत गर्ने खेलाडीको प्रतिभाको अवमूल्यन गर्दै मिलेमतोको आधारमा गरिने छनोटले केवल खेलाडी मात्र होइन, क्रिकेटको भविष्यसमेत कमजोर बनाउने खतरा बोकेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode