सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् : बजेटमा चलखेल स्वीकार्य हुँदैन

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले असार १ गते आउने बजेटमा कसैबाट हुने चलखेल स्वीकार नहुने बताएका छन्।
उनले उपभोक्ता समितिबाट हुने विकासको काम पनि नहुने बताएका हुन्।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले २५ लाखमुनिका योजना पनि नबनाइने बताउदै यदि २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा, कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्ने बताए।
सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेर सुशासन, जनमुखी र जनउत्तरदायी शासन प्रणालीमार्फत विकास र समृद्धिप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दैआएको बताउँदै मुख्यमन्त्री शाहले वार्षिक विकास कार्यक्रम (बजेट) तर्जुमा गर्दा सुदूरपश्चिम प्रदेशको आवधिक योजना, मध्यावधि खर्च संरचना, प्रादेशिक सडक सञ्जाल गुरुयोजना, आयोजना बैँक तथा दीगो विकास लक्ष्यलाई प्रमुख आधारका रूपमा लिइने बताए।
उनले अघिल्लो बजेटमाझैं प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थालाई तोकेर बजेट विनियोजन नगर्ने पनि बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया