Hikmat Acharya
  • २५ जेठ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

पीके क्याम्पसमा काैशिला र लक्ष्मीबीच भएको विवाद के हो ?


काठमाडौं : राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा छात्रावास भर्नासम्बन्धी विषयलाई लिएर डडेल्धुराका पूर्व गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेस निकट नेपाल तरुण दलकी नेताबीच विवाद भएको छ।

शुक्रबार दिउँसो भएको घटनामा भागेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष कौशिला भट्ट र तरुण दलका केन्द्रीय सदस्य खीलाकुमारी दाहाल (लक्ष्मी)बीच भनाभन र धकेलाधकेलसमेत भएको हो।

दुवै जना यसअघि पद्मकन्यामा नेविसंघ इकाइ सभापति भइसकेका हुन्। हाल भट्ट क्याम्पसमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन्।

छात्रावासमा विद्यार्थी छनोटको प्रक्रियालाई लिएर असन्तुष्टि जनाउँदै भट्टले स्ववियु सभापति भूपेश्वरी ऐर (भूपी)माथि पक्षपात गरेको आरोप लगाएकी छिन्।

भट्टका अनुसार, छात्रावासका लागि जरुरी देखिएका तर स्ववियुमा भूपीकी प्रतिस्पर्धी रहेकी पूर्णिमाया परियार, स्मृति सुवेदी लगायतका विद्यार्थीको नाम सूचीमा नराखिएको थियो।

दिउँसो भट्ट र अन्य केही विद्यार्थीले क्याम्पस प्रमुख डा. जयालक्ष्मी प्रधानलाई भेटी आपत्ति जनाएपछि लक्ष्मीले भट्टमाथि मादकपदार्थ सेवन गरेर गाली गलौज र हातपात गरेको आरोप लगाउँदै महानगरीय प्रहरी वृत्त मालीगाउँमा उजुरी दिएकी हुन्।

सार्वजनिक भिडिओमा उनीहरूबीच भनाभन र हाँसोठट्टा झैं देखिने बहस देखिन्छ।

भट्टले भने आफूले मापसे नगरेको र छात्रावास छनोट प्रक्रियाको विषयमा मात्रै प्रशासनसँग गुनासो राखेको दाबी गरेकी छन्।

छात्रावास भर्नाका लागि बिहीबार सार्वजनिक गरिएको सूचीमा आवेदन दिएका १८० जनामध्ये ७१ जनाको नाम समावेश गरिएको छ।

स्ववियु अध्यक्षसँग नजिक रहेका विद्यार्थीको मात्र नाम समेटिएको आरोप विद्यार्थी नेतृ पूर्णिमाया परियारले लगाएकी छन्।

छात्रावास छनोट समितिको संयोजकत्व क्याम्पसका सहायक प्रमुख विमला नेपालले गरेकी थिइन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode