Hikmat Acharya
  • २५ जेठ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रचण्डको खल्तीबाट वाईसीएल नेतृत्व चयन : प्रतिनिधिहरू फायर


काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योंग कम्युनिष्ट लिग (वाई.सी.एल.) को हालै सम्पन्न अधिवेशन गम्भीर विवादको चपेटामा परेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा विधि–विधानको उपहास गर्दै ‘जनवादी हस्तक्षेप’को बलमा नेतृत्व चयन गरिएको भन्दै अधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि आक्रोशित र असन्तुष्ट बनेका छन्।

जेठ १८ गते राजधानी काठमाडौँमा भव्य समारोहसहित सुरु गरिएको अधिवेशनमा देशभरका ७७ वटै जिल्लाबाट झन्डै १६०० प्रतिनिधिहरू सहभागी भएका थिए।

अधिवेशन ३ दिन (जेठ १८–२०) सम्म चल्ने भनेर तय गरिएको भए पनि पहिलो दिन मात्र औपचारिक उद्घाटन र मन्तव्य सुनाएर बाँकी दिन कुनै साङ्गठनिक प्रक्रिया अघि बढाइएन।

त्यसपछि स्पष्ट कार्यसूची नहुँदा अलमलमा परेका करिब १००० प्रतिनिधिहरू कार्यक्रम पूरा हुनुअघि नै घर फर्किएका थिए।

प्रचण्डको खल्तीबाट घोषणा, लोकतान्त्रिक अभ्यासको बेइज्जती

प्रतिनिधिहरूका अनुसार नेतृत्व चयनका लागि कुनै निर्वाचन प्रक्रिया, नाम प्रस्ताव, छलफल वा सहमति जुटाउने विधि अपनाइएको थिएन।

त्यसको सट्टा अधिवेशन सुरु भएको सातौं दिन, अध्यक्ष प्रचण्डको ‘खल्ती सिफारिस’बाट नेतृत्व टिम एकलौटी रुपमा सार्वजनिक गरियो।

प्राप्त जानकारी अनुसार, वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा अर्जुन साउद र नवराज ऐर चयन गरिएका छन्।

महासचिवमा गणेश शाही र उपमहासचिवहरूमा नरबहादुर बिष्ट, सुष्मा थापा, सुरज खाती, शिव बोगटी नियुक्त भएका छन् भने सचिवमा भुवन कुँवर जिम्मेवारीमा आएका छन्।

नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया पार्टी अध्यक्षको निर्देशनमा  तय गरिएको हो भन्नेमा प्रतिनिधिहरू एकमत देखिन्छन्।

प्रतिनिधिहरूको आक्रोश : यो संगठन होइन, प्रचण्डको प्राइभेट कम्पनी

अधिवेशनको विधिविहीनता र प्रक्रियाविहीन नेतृत्व चयनप्रति प्रतिनिधिहरू खुलेर बोल्न थालेका छन्।

एक प्रतिनिधिले भने, “हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा लड्ने संगठनको सदस्य हौं भनेर गर्व गर्छौं तर हाम्रो आफ्नै संगठनभित्र लोकतन्त्रको चिहान खनिएको छ। हामीलाई बोल्न दिने मंच थिएन, सुन्ने कान थिएन, सुझावको कुनै मूल्य थिएन। यो अधिवेशन होइन, निर्देशनअनुसारको नाटक थियो।”

अर्का एक युवा प्रतिनिधिको भनाइ थियो, “वाईसीएल अब संगठन होइन, प्रचण्डको प्राइभेट कम्पनी भएको महसुस भयो। हामी त केवल दर्शक थिएँ, दर्शक पनि नपठाइने भीड मात्र।”

केन्द्रीय समितिमा ३५ पदाधिकारीको घोषणा, तर…

वाईसीएल अधिवेशनको बन्द सत्रमा ३५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने विधान पारित गरिएको भनिए पनि उक्त निर्णयमा प्रतिनिधिहरूको सरोकार, राय वा प्रस्ताव पेश हुन पाएका थिएनन्।

प्रक्रियाबिना नै अनुमोदन भएको घोषित गरिएको छ। यसरी घोषित नेतृत्व टिमप्रति धेरै प्रतिनिधिहरूले न आफूले नाम सुनेका थिए, न राजनीतिक हिसाबले विश्वास गरेका व्यक्तिहरू रहेको टिप्पणी गरेका छन्।

पार्टी नेतृत्वमा निरंकुश प्रवृत्तिको हावी ?

नेतृत्व छनोटको शैली र प्रक्रियामाथिको असन्तुष्टिले अहिले माओवादी केन्द्रभित्र गहिरो असन्तोष र अविश्वासको वातावरण सिर्जना गरेको छ।

पार्टी सुप्रिमो प्रचण्डप्रति संगठनभित्रको आलोचना पछिल्लो समय बढ्दै जाँदा पनि उनले सत्ता र शक्तिको समिकरण अनुसार निर्णय गर्न खोजेको आरोप लाग्न थालेको छ।

एक राजनितिक बिश्लेषक भन्छन् “वाईसीएलजस्तो संगठनको नेतृत्व चयन प्रक्रियाले माओवादी आन्दोलनभित्रको सैद्धान्तिक विचलन र निरंकुश अभ्यासलाई झल्काउँछ। प्रचण्ड आफैंले विगतमा जुन जनवादी केन्द्रीयताको अभ्यास गर्ने कुरा गर्थे, अहिले त्यसैको उल्टो गरिरहेका छन्।”

प्रतिनिधिहरू अझै अधिवेशन विधिवत् सम्पन्न भयो वा अधूरोमै टुंगियो भन्ने अन्योलमा छन्।

बन्द सत्रको कार्यसूचीबारे प्रतिनिधिहरूलाई औपचारिक जानकारी नगरिएको, छलफल नगरी घोषणा गरिएको भन्दै अधिवेशनले संगठनभित्र विश्वास संकट सिर्जना गराएको छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode