भागेश्वरकी पूर्वअध्यक्ष कौशिलाकुमारीले मापसे गरेर पीके क्याम्पसमा गरिन लफडा, प्रहरीमा उजुरी !

काठमाडौं : डडेल्धुराको भागेश्वर गाउँपालिकाकी पूर्वअध्यक्ष कौशिलाकुमारी भट्टमाथि मादक पदार्थ सेवन गरी पद्मकन्या क्याम्पसमा अभद्र व्यवहार गरेको आरोप लागेको छ।
शुक्रबार दिउँसो साढे २ बजे क्याम्पस परिसरमा पुगेर गालीगलौज र कुटपिटको प्रयास गरेको भन्दै नेपाल तरुण दलकी केन्द्रीय सदस्य लक्ष्मी (खिलाकुमारी दाहाल) ले प्रहरी वृत्त मालीगाउँमा उजुरी दिएकी छिन्।
लक्ष्मीले उजुरीमा लेखे अनुसार, स्कुटर पार्किङ गरी बाहिर निस्कँदै गर्दा कौशिलासँग मुठभेट भएको थियो।
त्यस क्रममा भट्टले अश्लील गाली गलौज गर्नुका साथै हातपात गर्ने प्रयाससमेत गरेकी थिइन्। उनले आफूलाई लक्षित गरी लगातार गाली बेइज्जती र धम्की दिँदै आएको पनि दाबी गरेकी छिन्।
लक्ष्मी पद्मकन्या क्याम्पसकी पूर्व इकाई सभापति समेत हुन्। उनी नेविसंघ (नेपाल विद्यार्थी संघ) निकट कार्यकर्ताको रूपमा क्याम्पसमा सक्रिय रहिआएकी छिन्।
क्याम्पसमा नेविसंघका दुई समूहबीच पछिल्लो स्ववियु निर्वाचनमा प्रतिस्पर्धा भएको थियो।
तीमध्ये लक्ष्मीको टिमले लगातार दुई पटक जित हासिल गरेको थियो, जसपछि कौशिलाले निरन्तर बदनियतपूर्ण व्यवहार गर्दै आएको लक्ष्मीको आरोप छ।
कौशिला स्वयं पनि नेविसंघको पूर्व विद्यार्थी नेतृ हुन् र क्याम्पसमा पुरानो सक्रियता रहेको पृष्ठभूमि छ।
उनी डडेल्धुराको भागेश्वर गाउँपालिकाकी पूर्व अध्यक्ष मात्र नभई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य पनि हुन्।
लक्ष्मीले प्रहरीलाई किटानी जाहेरी दिने तयारीसमेत गरेकी छन् भने शनिबार पत्रकार सम्मेलनमार्फत आफूमाथिको निरन्तर दुर्व्यवहारको सार्वजनिक विरोध गर्ने योजना रहेको बताएकी छिन्।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया