भारतबाट फर्किने सुदूरपश्चिमेलीमा कोरोना, नाकामा परिक्षण गर्न कीट अभाव

धनगढी : भारतबाट फर्किने नेपालीहरूमध्ये अधिकांशमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।
धनगढीको त्रिनगर भन्सार नाकामा गरिएको एन्टिजेन परीक्षणमा तीन दिनभित्र नौ जनामा संक्रमण पुष्टि भएको छ।
शुक्रबार मात्रै गुजरातबाट फर्किएका कैलाली र अछामका पाँच महिलामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
भारतमा कोरोना संक्रमण फैलिँदो अवस्थामा रहेकाले सीमाक्षेत्रमा सतर्कता आवश्यक भए पनि नेपाल पक्षको तयारी भने कमजोर देखिएको छ।
प्रमुख नाकाहरूमा कोरोना परीक्षणका लागि प्रयोग गरिने एन्टिजेन किट नै अभाव भएको छ।
कोरोनाको कडा लक्षण देखिएकालाई मात्र त्रिनगर नाकामा परीक्षण गरिरहेको महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
उनका अनुसार किटको अभावले गर्दा सुदूरपश्चिमका अन्य प्रमुख नाकामा परीक्षण हुन सकेको छैन।
‘शुक्रबार २०० थान किट आएको छ, तर यो पर्याप्त छैन,’ जोशीले भने, ‘त्रिनगरमा फर्किने थोरै व्यक्तिमा मात्र परीक्षण गर्न सकिएको छ। अन्य नाकामा परीक्षण हुन सकेको छैन।’
जोशीका अनुसार परीक्षण किटको माग प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय सरकार दुवैमा गरिएको छ।
त्रिनगर र गड्डाचौकी सुदूरपश्चिमका प्रमुख नाका हुन्, जहाँ हेल्थ डेस्क स्थापना गरिएका छन्। किट प्राप्त भएपछि अन्य नाकाहरूमा पनि परीक्षण सुरु गरिने जोशीले बताए।
हाल झुलाघाट (बैतडी), पुलघाट र जोलाजिमी (दार्चुला), र खक्रौला (टीकापुर) नाकामा परीक्षण किटको अभावमा कोरोना परीक्षण रोकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
सीमाबाट फर्किने व्यक्तिहरूमा कोरोना संक्रमणको जोखिम रहे पनि परीक्षण नहुँदा संक्रमण समुदायमा फैलिने सम्भावना उच्च रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया