Hikmat Acharya
  • २४ जेठ २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम पृतनाबाट सैनिक खटाएर बडिमालिका मन्दिरको पुनर्निर्माण गर्दै सेना


धनगढी : मुलुकको शान्ति–सुरक्षा, संयुक्त राष्ट्रसंघको शान्ति स्थापनासँगै सामाजिक सेवामा सक्रिय नेपाली सेनाले बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण थालेको छ।

सेनाले आफ्नै बजेटमा मन्दिर पुनर्निर्माण सुरु गरेको हो।

त्रिवेणी नगरपालिका–९ र बडिमालिका नगरपालिका–६ को सीमामा अवस्थित बडिमालिका मन्दिर नेपालका प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हो।

मन्दिरमा दर्शन गर्न देश–विदेशबाट भक्तजन पुग्ने गर्दछन्। डाँडामाथि अवस्थित यो मन्दिरसम्म पुग्न दुई–तीन दिनको पैदल यात्रा गर्नुपर्छ।

धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको मन्दिर जीर्ण बनेपछि सेनाले आफ्नै खर्चमा र आफ्नै जनशक्तिबाट पुनर्निर्माणको काम अघि बढाएको हो।

मन्दिरको भवन निर्माणका लागि सेनाले हेलिकप्टर प्रयोग गरी तराईबाट सालको काठ ओसारिरहेको छ।

एक स्रोतका अनुसार, “बडिमालिका मन्दिरमाथि भक्तजनको गहिरो श्रद्धा छ।

यहाँ गएर मागिएको मनोकामना पूरा हुने जनविश्वासले भक्तजनहरू कठिन यात्रा गरेर पनि दर्शन गर्न पुग्ने गर्दछन्। त्यही आस्था जोडिएको मन्दिर जीर्ण बनेपछि सेनाले पुनर्निर्माण थालिएको हो।”

सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले कोरोनाका कारण रोकिएको पुनर्निर्माण कार्य फेरि सुरु भएको जानकारी दिए। उनका अनुसार अहिले प्रारम्भिक चरणमा सामग्री ढुवानीको काम भइरहेको छ।

“पुनर्निर्माण सुरु गर्ने तयारीकै बेला कोरोना महामारी आयो, त्यसपछि काम रोकिएको थियो,” उनले भने, “अहिले सामान ओसार्ने र अन्य तयारीको काम चलिरहेको छ।”

बडिमालिका नगरपालिकाका मेयर अमरबहादुर खड्काका अनुसार सेनाले दुईतले नयाँ मन्दिर बनाइरहेको छ।

हुमकुण्ड निर्माण र बत्ती जडानको काम सकिएको छ। हेलिकप्टरमार्फत सामान ओसारेर नजिकैको ब्यारेकमा भण्डारण गरिएको उनले जानकारी दिए।

सुदूरपश्चिम पृतनाबाट सैनिक खटाएर मन्दिर निर्माणमा सक्रिय बनाइएको छ। नेपालमा मात्र नभई भारतमा समेत नेपाली सेनाले समाज कल्याणसँग जोडिएका काम गर्दै आएको छ।

जस्तै बाटोघाटो बनाउने, विद्यालय तथा अस्पताल निर्माण गर्ने, स्वास्थ्य शिविर आयोजना गर्ने, मन्दिरको पुनर्निर्माण र मर्मतसम्भार गर्नेजस्ता कार्यहरू।

यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई सेनाले ‘मिलिटरी सिभिक एक्सन’ अन्तर्गत सञ्चालन गर्दै आएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode