सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभामा पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी सांसद पदबाट स्वतः निलम्बन भएको पत्र प्रदेश सभामा सचिवालयमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध एक करोड ८ लाखको बिगो मागदाबी लिएर भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै उनी प्रदेश सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन् ।
अब नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारीको सांसद पद निलम्बन भएको पत्र सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठकमा पढेर सुनाउनेछन् ।
प्रदेश सभा सदस्यको हैसियतमा उनले कुनै काम गर्न पाउने छैनन् भने प्रदेश सभा सचिवालयले तलब लगायतका सेवासुविधा पनि रोक्का गर्नेछ ।
प्रदेश सभाको बैठक अगामी २३ जेठमा बस्ने कार्यसूची रहेको छ । सभामुख भण्डारीले सोही बैठकमा सोडारी पदमुक्त भएको सूचना सुनाउने सभामुखको सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीको प्रदेश सभा सदस्य पद निलम्बन सम्बन्धी पत्र पठाएको पुष्टि गर्दै प्रक्रियामा अघि बढेको जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया