Hikmat Acharya
  • १५ साउन २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

आमा अस्पतालमा छटपटिँदा जिम्मेवारी पूरा गरेँ, तर निलम्बन गरियो: राजुनाथ पाण्डे


काठमाडाैं: मंगलबार निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई मंगलबार ६ महिनाका लागि निलम्बन गरेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै पाण्डेले आफूमाथि अन्याय भएको बताएका हुन् ।

 आफूले विषम परिस्थितिमा पनि पदीय जिम्मेवारी पूरा गरेको बताउँदै पाण्डेले आफ्नो कामलाई ‘भगवान’ले मूल्यांकन गर्ने बताए ।

‘मेरो आमा जीवन मरणको दोसाँधमा अस्पतालमा छटपटाइरहेका बेला पनि मैले मेरो जिम्मेवारी (महानगर प्रहरी प्रमुखको काम) कुशलतापूर्वक पूरा गरेँ । त्यस्तो बेला पनि गरेको मान्छेलाई अन्याय गरेकोमा तिनीहरूलाई धन्यवाद ! मलाई भगवानले न्याय देलान्’, पाण्डेले भने ।

उनले आमा ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिए । पाण्डेका अनुसार उनकी आमालाई शनिबार ब्रेन ह्यामरेज भएको थियो ।

यस्तो अवस्थामा मानवीयताको समेत ख्याल नगरी आफूलाई निलम्बनको पत्र थमाइएको उनको प्रतिक्रिया छ । महानगर प्रमुख बालेन शाहको आदेश पालना गरेकै कारण आफूलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले निलम्बन गरेको पाण्डेको भनाइ छ ।

पाण्डेलाई निलम्बन गरेपछि विष्णु जोशीलाई महानगर प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको थियो । त्यस अनुसार पाण्डेले जवाफ पनि पेस गरेका थिए । तर, जवाफ चित्तबुझ्दो नभएको भन्दै गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

गत चैत २१ गते आफू लामो बिदापछि महानगरपालिका कार्यालय प्रमुखका रूपमा आउँदा पाण्डेले अवरोध गरेको भन्दै गुरागाईंले उनलाई स्पष्टीकरण सोधेका थिए ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode