Hikmat Acharya
  • २३ जेठ २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सोडारीको पद निलम्बन भएसँगै नेकपा एस सुदूरपश्चिम संसदीय दलको नेता को ?


धनगढी: पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद निलम्बन भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि मुद्दाको टुंगो नलाग्दासम्म पद स्वतः निलम्बन हुने व्यवस्था छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा मागदाबीसहित मुद्दा दर्ता गरेको हो।

आयोगका अनुसार सोडारीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका छन्।

सोडारी निलम्बनमा परेपछि अब नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशसभामा नयाँ दलको नेता चयन गर्नुपर्ने भएको छ।

वर्तमान उपनेता प्रकाश रावलले बुधबार दलको बैठक बोलाएर नयाँ नेता चयन गर्ने तयारी भइरहेको जानकारी दिए।

रावलले भने, “छलफल भइरहेको छ। भोलि दलको बैठक बस्छ र नयाँ नेता चयन हुन्छ। दलको नेताका लागि कुनै विवाद छैन, सहमतिमै चयन गरिन्छ।”

प्रदेशसभामा समाजवादीका कुल चार सांसदमध्ये सोडारी निलम्बनमा परेपछि हाल तीन सांसद मात्र कायम रहेका छन्।

नेताहरूका अनुसार उपनेता रावल नै सम्भावित नयाँ नेता हुन्। तर सांसदद्वय नरेशकुमार शाही र माया पन्तले पनि नेताको आकांक्षा राखेका छन्।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode