टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि…

कालिकोट : टाउको दुखेको बिरामीलाई आइरन चक्की दिएको भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका–३ मा रहेको एक आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन्।
स्थानीयहरूका अनुसार स्वास्थ्य केन्द्रमा पछिल्लो दुई हप्तादेखि कुनै पनि स्वास्थ्यकर्मी उपस्थित छैनन्।
उनीहरूले सरकारबाट उपलब्ध हुने निःशुल्क औषधि समेत नपाएको गुनासो गरेका छन्।
एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयहरूले स्वास्थ्य केन्द्रमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “कार्यालय समयमा नआउने, पावर र पहुँच देखाएर बिरामीलाई धम्क्याउने, र औषधि नदिनेजस्ता लापरबाही कर्मचारीबाट भएका छन्।”
स्थानीय खगेन्द्र पाण्डेका अनुसार, खोकी र टाउको दुखेका बिरामीहरू औषधिका लागि जाँदा उनीहरूलाई आइरन चक्की थमाइएको थियो।
उक्त चक्की स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीले वितरण गरेको बताइएको छ। स्थानीयहरूले दोषी कर्मचारीलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया