Hikmat Acharya
  • १७ साउन २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

घोडा चढाएर ‘डाक्टर बाजे’को भव्य बिदाइ : ४० वर्षे स्वास्थ्य सेवालाई कालिकाको सलाम !


अछाम । बान्नीगढी जयगढ गाउँपालिका–५ को कालिका बाच्कोट गाउँ। हरियालीले ढाकिएको, शान्त र मिलेर बस्ने गाउँ। यही गाउँमा एक जना विशेष व्यक्ति छन् – डम्बरे साउँद। उमेरले छेउछाउ पक्रन थालेको, तर व्यवहारले कहिल्यै नथाकेको नाम।

४० वर्षअघि, २०४२ सालको भदौ २९ गते, उनी कालिका स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा नियुक्त भएका थिए। पद त कार्यालय सहयोगी थियो, तर काम भने त्यसभन्दा धेरै माथी । स्वास्थ्य चौकी सफा राख्ने, फाइल मिलाउने, औषधि ल्याउने, अनि बिरामीलाई सघाउने,सबै उनी एक्लैले सम्हाल्थे।

त्यति मात्रै होइन, गाउँमा कोही बिरामी भयो भने रात अतरात पनि टर्चलाइट बोकेर, औषधि हातमा लिएर घरसम्म पुग्ने बानी थियो उनको।

स्वास्थ्यकर्मी नभए पनि स्वास्थ्य सेवामा उनको भूमिका डाक्टरसरह थियो। त्यसैले गाउँलेले उहाँलाई “डाक्टर ” भनेर माया र सम्मान दुवैका साथ बोलाउँथे।

उनले कहिल्यै ‘म सानो काम गर्छु’ भनेर गुनासो गरेनन्। न कहिल्यै बिरामीको सेवा गर्न पछि हटे। बरु जोसिलो मुहार, कर्तव्यप्रति निष्ठा र गाउँप्रतिको प्रेम बोकेर चौकीमा हरेक दिन उपस्थित हुन्थे। कतिपटक त डाक्टर नभएको बेलामा बिरामीको हिम्मत बढाउने, सल्लाह दिने, र चिन्न सक्ने औषधिहरू मिलाएर दिनेजस्ता काम उनले जिम्मेवारीपूर्वक गरेका थिए।

तर समयले सबै कुरा बदल्छ। अब भने डम्बरे साउँद उमेर हदका कारण अनिवार्य अवकासमा जानुपर्ने भयो। जागिरको अन्त्य भए पनि गाउँलेको मनमा बसेको उनीप्रतिको माया भने अझै स्थायी थियो।

त्यसैले बिदाइको दिन उनलाइ स्थानीयले उच्च सम्मान सहित उनको बिदाई गरेका छन्। कालिकाबासीले साँच्चिकै उत्सवको झल्को दिने गरी उनको राजकिय शैलीका साथ बिदाई गरेका हुन् ।
स्वास्थ्य चौकीमा बिदाइ कार्यक्रममा खादा, माला, फूल र अविरले उनी रंगीय । बाजागाजार हुड्केउली सहित उनलाइ घोडामा चढाएर घर पुर्याईयो ।

कालिकाको स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई धन्यवाद ज्ञापन गर्न युवादेखि बृद्धबृद्ध सहभागी भए ।

सबैले माला लगाइदिए, अविर लगाईदिए र उनलाई सम्मानपत्र समेत प्रदान गरियो । उनी सधैंजस्तै सरल थिए, नम्र मुस्कानसहित सबैतिर अभिवादन गर्दै गर्दा उनको आँखामा गर्व, भावुकता र माया देखिन्थ्यो ।

वडा अध्यक्ष टंक साउँदको अध्यक्षतामा भएको उनको बिदाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि राजनितिज्ञ लगायत सहभागी थिए ।

कार्यक्रम वडा अध्यक्ष टंक साउँदको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउँदले भावुक हुँदै भने: “डम्बरे साउँदज्यू हाम्रो वडा र स्वास्थ्य क्षेत्रका लागि अमूल्य योगदान दिने व्यक्तित्व हुनुहुन्छ। उहाँले पदभन्दा माथि उठेर काम गर्नुभयो। कार्यालय सहयोगी मात्र होइन, गाउँका हरेक नागरिकका लागि उहाँ आशाको मुहान बन्नु भयो। उहाँको सेवाभाव हामी सबैका लागि प्रेरणा हो। हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ।”

सहभागीहरुले कार्यालय सहयोगीका रुपमा रहेर पनि स्वास्थ्य क्षेत्रमा साउँदले गरेको सेवा कहिल्यै बिर्सन नसक्ने बताउदै उनी समुदायका साँचिकै हिरो भएको उल्लेख गरे ।

डम्बरे साउँद अब दैनिक स्वास्थ्य चौकीमा देखिने छैनन् । तर उनी गाउँको प्रत्येक घर, र हरेक आपत्–विपत्तिको क्षणमा सधैँ रहने छन् ‘डाक्टर बाजे’का रूपमा।

उनको बिदाइले देखायो – पद ठूलो होइन, समर्पण ठूलो हुन्छ।

भिडयो :-


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode