भ्रष्टाचारको अखडा बन्दै आपूर्ति केन्द्र : लेखा अधिकृत शाहीले नै गरे यस्तो खुलासा

धनगढी : प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, धनगढीका लेखा अधिकृत कृष्णबहादुर शाहीले आपूर्ति केन्द्रमा अनियमित गतिविधि हुँदै आएको खुलासा गरेका छन्।
सामाजिक संजाल फेसबुक मार्फत शाहीले आपूर्ति केन्द्रमा विगतदेखी अनियमित काम हुँदै आएको खुलासा गरेका हुन्।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, धनगढीको यस आर्थिक वर्षमा लक्षित वर्गका लागि पोषण झोला खरिदका लागि खोलिएको करोडौँको ठेक्कामा विवाद भएको विषयलाई लिएर पश्चिम रैबारले फलोअपसहित समाचार प्रकाशित गरिरहेको छ।
पोषण झोला खरिद ठेक्कामा लेखा अधिकृत शाहीको भूमिकामाथि प्रश्न शीर्षकमा प्रकाशित समाचारलाई लिएर सामाजिक संजाल फेसबुकमा स्टाट्स लेखेका शाही स्वयंले आपूर्ति केन्द्रमा विगतका वर्षदेखि अनियमित काम हुँदै आएको खुलासा गरेका हुन्।
उनले समाचारका विषयमा आपत्ति जनाउँदै लेखेका छन्, ‘बिएलसी इन्स्ट्याण्ट फुड्सले गत वर्ष पनि यहीँ कार्यालयबाट लिटो खरिदको ठेक्का पाएको थियो। उक्त ठेक्कामा उक्त कम्पनीले कर्मचारीलाई प्रभावित गरेर कानुन विपरीत कार्यालयले बोलपत्रमा माग गरेको परिणामभन्दा १५ प्रतिशत बढी परिणामको सर्वोत्तम पिठो किनाउन सफल भएको थियो। जस बाफत उसलाई र सम्बन्धित कर्मचारीलाई लाखौं रकम फाइदा भएको थियो।’
गत वर्ष आपूर्ति केन्द्रले लिटो खरिदको ठेक्का प्रकृया पूरा गर्दा शाही स्वयम् सामाजिक मन्त्रालयको लेखा अधिकृतको भूमिकामा थिए।
एकातर्फ आपूर्ति केन्द्रका गतिविधिमाथि नियन्त्रण गर्ने माथिल्लो अधिकार सम्पन्न निकाय सामाजिक मन्त्रालयको लेखा अधिकृत रहेका शाही यसअघि किन यश विषयमा चुपचाप बसे ? भन्ने प्रश्न र स्वयं शाही मन्त्रालय छोडी मातहतको निकायमा आउन किन तयार भए ? भन्ने प्रश्न अर्को तर्फ खडा भएको छ।
लेखा अधिकृत शाहीले केही कर्मचारीको मिलेमतोमा आर्थिक लाभ लिने गरि नियम विपरीत गतिविधि भएको ठोकुवा गरेका छन्।
आपूर्ति केन्द्रले खोलेको पोषण झोला खरिद प्रक्रियामा पनि अनियमितता भएको भन्दै असन्तुष्ट पक्षको उजुरी पश्चात् सार्वजनिक खरिद पुनरावलोकन समितिले खरिद प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ।
यस्तै प्रदेश सभाको सामाजिक विकास समितिले पनि पाँच दिनभित्र खरिद सम्बन्धी सम्पूर्ण कागजात पेस गर्न निर्देशन दिएको छ।
लेखा अधिकृत शाहीको भूमिकामाथि प्रश्न खडा भएकोबारे पश्चिम रैवारले प्रकाशित गरेको समाचारलाई लिएर शाहीले कार्यालय प्रमुख झनकराज ढुंगानाको भूमिकामा प्रश्न उठाइरहेका छन्।
ढुंगाना दरबन्दी नै नभएको कार्यालयमा हाकिम बनेको आरोप उनको छ।
उनले बजेट दिने र पोषण झोला खरिदको कार्यविधी बनाउने सामाजिक विकास मन्त्रालय, स्पेशिफिकेन बनाउने कार्यालय प्रमुखले छनौट गरेको पोषण विद दिपेन्द्र भट्ट, टेण्डर गर्ने र स्विकृत गर्ने कार्यालय प्रमुख ढुङ्गाना रहेको जिकिर गरेका छन्।
यसरी एकातिर लेखा अधिकृत आफैले विगतको खरिद प्रक्रियामा मिलेमतो भएको खुलासा गर्दै आएका छन् भने अर्कोतर्फ आफूमाथि झूठा आरोप लगाएर पेशागत छविमा आँच आउने गरी समाचार लेखिएको भन्दै आक्रोशित छन्।
उनले गत वर्ष समेत केही कर्मचारीको मिलेमतोमा नियम विपरीत कार्य भएको भनी गरेको ठोकुवा पुष्टि गर्नै पर्ने नैतिक दबाब उनीमाथि आइलागेको छ।
अन्यथा आफूमाथि लागेको आरोपलाई खण्डन गर्न उनले जथाभावी लेखेको पुष्टि हुनेछ।
यो प्रकरणले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा सार्वजनिक खरिद प्रक्रियामा गम्भीर सवालहरू उठाएको छ भने पारदर्शिता, जवाफदेहिता र अख्तियारको दुरुपयोगको सन्दर्भमा गम्भीर बहस चर्किएको छ।
र, यो पनि :
पोषण झोला फलोअप : खरिद प्रक्रियाका कागजपत्र ५ दिनभित्र पेश गर्न सामािजक समितिको निर्देशन
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा करोडौंको ठेक्कामा घोटाला, लेखा अधिकृत शाहीको भूमिकामाथि प्रश्न !
सुदूरपश्चिममा पोषण झोलामा करोडौँ झ्वाम पार्ने योजना तुहियो
सुदूरपश्चिममा पोषण झोला योजनामा सेटिङ, १५ करोड रकम कुम्ल्याउने खेल
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया