भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई कांग्रेसको ‘क्लिन चिट’, अफवाह फैलाएको आरोप

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसले उनको राजीनामाको माग अनुचित रहेको ठहर गरेको छ।
पार्टीले यो विषयमा सामाजिक सञ्जालमा फैलिएको अफवाहकै भरमा माग उठाउनु गलत भएको स्पष्ट पारेको छ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नभएको र लेखक आफैंले बैठकमा विस्तृत विवरण दिँदै कुनै संलग्नता नरहेको स्पष्ट पारेको बताए।
“गृहमन्त्रीमाथि कतिपय नेताहरूले कुरा नबुझी टिप्पणी गरे, जसको बैठकमा आलोचना भएको छ,” महतले भने, “अब सबै नेताहरूले वास्तविकता बुझेका छन्, अब यस्तो अभिव्यक्ति दोहोरिने छैन।”
उनले भिजिट भिसा प्रकरणमा संलग्न जो–कोहीमाथि निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्रीमाथि भएको आरोपहरू प्रमाणबिनाको अफवाह भएको दाबी गरे।
प्रवक्ता महतका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा गरेको छापामारीपछि उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले संसदभित्र र बाहिर दिँदै आएका छन्।
उनले कांग्रेसकै केही नेताहरू समेत अफवाहको शिकार भएको उल्लेख गर्दै पार्टीको आधिकारिक धारणा भने स्पष्ट रहेको बताए।
गृहमन्त्री रमेश लेखकले बैठकमा आफूमाथि लगाइएको आरोप निराधार भएको प्रस्ट्याउँदै छानबिनमा पूर्ण सहयोग गर्ने बताएपछि पार्टीले उनलाई पूर्ण समर्थन जनाएको हो।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया