Hikmat Acharya
  • ४ असार २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

बैतडीका स्थानीय तहको बेरुजु साढे दुई अर्ब 


बैतडी :  बैतडीका स्थानीय तहमा बर्सेनि करोडौँ रुपियाँ बेरुजु थपिन थालेको छ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको अद्यावधिक बेरुजु दुई अर्ब ३९ करोड ५१ लाख रुपियाँ पुगेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० सम्म दुई अर्ब १६ करोड आठ लाख ४६ हजार अद्यावधि बेरुजु रहेकामा आव २०८०/८१ को एक वर्षमा थप २३ करोड बेरुजु थपिएपछि कुल बेरुजु अढाई अर्ब पुगेको हो ।

प्रतिवेदन अनुसार आव २०८०/०८१ को एक वर्षमा बैतडीका चार नगरपालिका र छ गाउँपालिकामा २३ करोड ४३ लाख ७० हजार बेरुजु देखिएको छ ।

तथ्याङ्क अनुसार स्थानीय तहले राजस्वबाट प्राप्त रकमको ८० प्रतिशत पदाधिकारीको सेवा सुविधा, भ्रमण, इन्धन, खाना र निकटका व्यक्तिलाई कर्मचारी भर्ना गरेर सक्ने गरेका छन् ।

प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई मासिक सेवा सुविधाको छुट्टै व्यवस्था गरेको छ । यद्यपि सो सुविधाभन्दा बढी हुने गरी खर्च गरेको देखिएको छ ।

जिल्लाका १० वटा स्थानीय तहले सर्वसाधारणबाट वार्षिक पाँच करोड ४९ लाख ९६ हजार आन्तरिक कर उठाउने गरेका छन् ।

जनप्रतिनिधिले भ्रमण, इन्धन, खानालगायत विविध खर्चमा वार्षिक आठ करोड ४४ लाख ४६ हजार खर्च गर्दै आएका छन् ।

महालेखाको प्रतिवेदन अनुसार जिल्लाको दुर्गम मानिएको डिलासैनी गाउँपालिकाको अद्यावधिक बेरुजु ३९ करोड रहेकोमा आव २०८०/८१ मा थप पाँच करोड ६८ लाख १५ हजार बेरुजु थपिएको छ । डिलासैनीको हालसम्म कुल बेरुजु ४४ करोड ९३ लाख नाघेको छ ।

दोगडाकेदार गाउँपालिकाको अद्यावधिक बेरुजु १८ करोड २९ लाख रहेकामा आव २०८०/८१ मा थप एक करोड १२ लाख ५७ हजार बेरुजु थपिएपछि कुल बेरुजु १९ करोड ४१ लाख नाघेको छ ।

दशरथ चन्द नगरपालिकाको अद्यावधिक बेरुजु ४१ करोड ७२ लाख ४५ हजार रहेकामा २०८०/८१ मा थप दुई करोड २४ लाख ७१ हजार बेरुजु थपिएको छ ।

सुर्नया गाउँपालिकाको हालसम्मको बेरुजु २१ करोड २९ लाख ४० हजार रहेकामा २०८०/८१ मा थप एक करोड ५७ लाख ४४ हजार बेरुजु थपिएको छ ।

त्यसै गरी मेलौली नगरपालिकाको अद्यावधिक बेरुजु २१ करोड ७४ लाख रुपियाँ रहेकामा २०८०/८१ मा थप चार करोड ३२ लाख ४१ हजार रुपियाँ बेरुजु थपिएको छ ।

पाटन नगरपालिकाको अद्यावधिक बेरुजु १६ करोड दुई लाख १६ हजार रहेकामा २०८०/८१ मा थप दुई करोड ७७ लाख ९६ हजार बेरुजु थपिएको छ ।

शिवनाथ गाउँपालिकाको अद्यावधिक बेरुजु १४ करोड ६१ लाख ६५ हजार रहेकामा २०८०/८१ थप एक करोड ६९ लाख तीन हजार बेरुजु थपिएको छ ।

सिगास गाउँपालिकाको अद्यावधिक बेरुजु २१ करोड ११ लाख २३ हजार रहेकामा २०८०/८१ मा थप एक करोड ४३ लाख छ हजार बेरुजु थपिएको छ ।

पञ्चेश्वर गाउँपालिकाको अद्यावधि बेरुजु २२ करोड ६६ लाख ८९ हजार रहेकामा २०८०/८१ मा थप एक करोड १८ लाख ४८ हजार बेरुजु थपिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode