Hikmat Acharya
  • ६ भदौ २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते


दार्चुला : दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।

सोमबार बेलुकी घरमै चट्याङ लागेर महाकाली नगरपालिका–६ निसिलका अठार वर्षीय जनकसिंह धामी र सोही ठाउँ बस्ने छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

निसिलका पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेर उनीहरू घाइते भएको प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक दीपेन्द्रसिंह साउँदले जानकारी दिए।

घाइते दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चट्याङ लागेर घरको गोठमा रहेको एक गाई र एक खसीको मृत्यु भएको बताइएको छ।

यस्तै हावाहुरीका कारण जिल्ला सदरमुकाम खलङ्गा बङ्गाबगर स्थित लास्कु बस्ने कल्याणसिंह कुँवरको घरमा रुख खस्दा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिका–५ ठुलिसैन स्थित हावाहुरीको कारण बिजुलीको पोल र सल्लाका रुख ढलेका छन्।

प्रहरी चौकी रातामाटाका अनुसार लेकम गाउँपालिका–४ खरकडा स्थित गल्ला केदार माध्यमिक विद्यालयका तिन वटा र लेकम गाउँपालिकाका तिन वटा सोलर प्यानल हावाहुरीले उडाएर क्षति गरेको छ।

इलाका प्रहरी कार्यालय लालीका अनुसार हावाहुरीले लेकम गाउँपालिका–३ मकन्नाका वासुदेव जोशीको दुई कोठे घरको छाना उडाएको छ।

यसैबिच हावाहुरीकै कारण बिजुलीका पोलहरू ढलेपछि जिल्ला सदरमुकाम खलङ्गा लगायतका स्थानहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।

गोकुलेश्वर, ठुलीसैनी, पासादेउ, गोठिउडी, सिलचोकमा दुई पोल तथा तारमा क्षति हुँदा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ।

लेकम गाउँपालिकाको लाली स्थित खिम्तडमा पाच पोल, रातामाटामा दुई पोल, जौलजिबीको नेपाल टेलिकम र डाडाकोट जाने लाइनमा पाच पोलमा क्षति भएको छ।

सोमबार बेलुकी आएको हावाहुरी असिना पानीले विभिन्न स्थानहरूमा रूख ढलेर विद्युत् लाइनमा परी एघार केभि, तेत्तिस केभि र एलटी लाइनको विद्युत् संरचनामा क्षति भएको केन्द्रले जनाएको छ।

अवरुद्ध विद्युत् लाईन मर्मत कार्य गरी छिटो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। दार्चुला वितरण केन्द्रले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode