शुक्लाफाँटाका मेयर रणबहादुरका तीन वर्ष : सडक स्तरोन्तीदेखि किसानलाई लालपुर्जासम्म

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले तीन वर्षे कार्यकालमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ।
२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित नगरप्रमुख रणबहादुर महराको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, प्रशासन, न्याय र सामाजिक क्षेत्रमा विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।
पत्रकार सम्मेलनमार्फत नगरपालिकाले उल्लेख गरेअनुसार, सडक स्तरोन्नति र कालोपत्रेदेखि खानेपानीको चक्रपथ आयोजना, नगरस्तरीय कभर्डहल निर्माण, मल्टिस्पान पुल र सोलार बत्ती जडानजस्ता पूर्वाधार निर्माणका कामहरू सम्पन्न भएका छन्।
नगर अस्पतालको ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत २५३ विपन्न परिवारलाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ।
पर्यटकीय विकासतर्फ मणिकाधाम बतासे झर्नासम्म ३.५ किलोमिटर पदमार्ग निर्माण गरिएको छ।
स्वास्थ्य क्षेत्रमा निःशुल्क खोप, कृत्रिम गर्भाधान केन्द्र स्थापना र ३,३३७ नागरिकको आँखा परीक्षण गरिएको छ।
सामाजिक सुरक्षा र समावेशी सेवातर्फ अपांगता भएका ३० जनाको पहिचान गरी तालिम, एकल महिलाका लागि सीपमूलक तालिम, र ३ सयभन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ।
शिक्षा क्षेत्रमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण र सामुदायिक विद्यालयहरूमा नयाँ भवन निर्माण गरिएका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया