कैलालीमा घुमुवा प्रहरी बन्न चलखेल, पत्रकार महासंघमा कसले हाले बेनामे उजुरी ?

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ नेतृत्व आएसँगै घुमुवा प्रहरी बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ।
प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा र प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहको आगमनपछि केही प्रहरी कर्मचारीहरू सक्रिय रूपमा सादा पोसाकमा खटिने ‘घुमुवा’ बन्ने प्रयासमा लागेका छन्।
स्रोतका अनुसार असईदेखि वरिष्ठ सई तहसम्मका प्रहरी कर्मचारीहरू नेतृत्वसँग नजिकिन विभिन्न माध्यम अपनाइरहेका छन्।
उनीहरू पहिलाका घुमुवा प्रहरीहरूलाई आरोप लगाउँदै हटाउने कोशिसमा देखिन्छन्।
यसअघि केही घुमुवाहरूले सूचना संकलन र अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए।
तर हालका केही प्रहरी कर्मचारीहरू त्यही जिम्मेवारी हत्याउन पूर्व घुमुवामाथि आर्थिक अनियमितता र कमजोर कार्यक्षमता जस्ता आरोप लगाउन थालेका छन्।
घुमुवा प्रहरीको भूमिका संवेदनशील र जोखिमपूर्ण मानिने भए पनि अहिले व्यक्तिगत स्वार्थका लागि चलखेल भइरहेकाे आरोप छ।
डीएसपी सिंहको गृह जिल्ला रहेको कारण उनलाई व्यक्तिगत चिनजानका आधारमा प्रभाव पार्ने प्रयास समेत भइरहेको बताइएको छ।
यहीबीच, सादा पोसाकमा खटिएका केही प्रहरी आर्थिक लेनदेन र तस्करसँगको मिलेमतोमा संलग्न भएको आरोपसहित नेपाल पत्रकार महासंघ कैलालीमा बेनामे उजुरीसमेत परेको छ।
उजुरीमा सीमाक्षेत्रमा कार्यरत प्रहरीहरूले लाखौँ असुली गरेको दाबी गरिएको छ।
उक्त उजुरी कसले दिएको हो भन्ने अझै पुष्टि नभए पनि प्रहरी संगठनभित्रकै असन्तुष्ट समूह वा पूर्व प्रहरीको संलग्नता रहेको आशंका गरिएको छ।
यसअघि पनि नयाँ नेतृत्व आएपछि यस्तै प्रकृतिका उजुरीहरू परेका थिए।
केही समयअघि प्रहरी मुख्यालयले घुमुवा प्रणालीबारे सर्कुलर जारी गरी स्थगित गर्न निर्देशन दिएको थियो।
तर त्यसको कार्यान्वयन नभएपछि अहिले पुनः घुमुवा प्रहरीको विषयमा विवाद चुलिएको हो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया