डडेल्धुराबाट प्रचण्डले भने : सरकार बनाउने र भत्काउनेतिर माओवादी छैन
 
	
				
			डडेल्धुरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै जनतासँगको जोड बलियो बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन्।
शुक्रबार प्रेस सेन्टर डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्र सरकार बनाउने या भत्काउने खेलमा नभएको स्पष्ट पारे।
“हामी अहिले सरकारभन्दा जनता तिर छौं,” उनले भने, “सरकार गलत बाटोमा हिँडिरहेको छ, त्यसको खबरदारी आवश्यक छ तर सरकार भत्काउनेतिर लाग्ने बेला होइन।”
प्रचण्डले वर्तमान सरकारमाथि आलोचना गर्दै आफ्नो पक्षधरलाई जोगाउने र विपक्षीलाई निशाना बनाउने प्रवृत्तिप्रति आपत्ति जनाए।
“गलत गर्नेलाई जोगाउने, सामान्य संलग्नतामै विपक्षीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको छ,” उनले भने।
विदेशी प्रतिनिधिहरूको हालैको नेपाल भ्रमणबारे टिप्पणी गर्दै उनले सगरमाथा संवाद कार्यक्रमका सन्दर्भमा भारत, चीन र अन्य मुलुकका प्रतिनिधि नेपाल आएको जनाउँदै त्यसलाई राजनैतिक रूपमा अन्यथा नबुझ्न आग्रह गरे।
वामपन्थी एकताको सम्भावनाबारे उनले २०८४ को चुनावसम्म कुनै ठोस प्रगति नहुने संकेत दिए।
“पहिले प्रयास भयो, एकता गरियो तर धोका खाइयो,” उनले स्पष्ट पारे, “केपी शर्मा ओलीसँग तत्काल मिल्ने अवस्था छैन।”
हुलाकी राजमार्ग जनजागरण अभियानबारे बोल्दै उनले यो अभियान ऐतिहासिक रूपमा सफल भएको दाबी गरे। विपन्न, मजदुर र सिमान्तकृत समुदायसम्म पुगेर माओवादीले एक करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद गरेको उनले बताए।
डडेल्धुराको भौगोलिक सौन्दर्य र सम्भावनाको प्रशंसा गर्दै प्रचण्डले देउवासँग फोनमा संवाद भएको उल्लेख गरे। साथै उनले मध्यपहाडी लोकमार्ग अभियानको तयारी सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिए।
सुदूरपश्चिमप्रति माओवादीको प्रतिबद्धता पुनः दोहोर्याउँदै उनले उक्त प्रदेशलाई प्राथमिकतामा राख्दै पार्टीले वरिष्ठ नेताहरूलाई जिम्मेवारी दिएको बताए।
“अब सुदूरपश्चिमले गति लिन्छ,” उनले जोड दिए।
अन्त्यमा, संक्रमणकालीन न्यायको विषयमा बोल्दै प्रचण्डले शान्ति सम्झौताको मर्मअनुसार पीडितलाई केन्द्रमा राखी समाधान खोजिनु पर्ने धारणा राखे।
“सरकार यस विषयमा गम्भीर हुनैपर्छ,” उनको भनाइ थियो।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया