Hikmat Acharya
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बाच्कोटमा डण्डी स्वामीको शालिक निर्माण हुँदै : अध्यक्ष ,उपाध्यक्षले गरे शिलान्यास


अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा डण्डी स्वामी ( केवलानन्द) को शालिक निर्माण गरिने भएको छ ।

जस अन्तर्गत जयगढ रामारोशन सडक खण्ड अन्तर्गत बाच्कोट बिर्खम बजारमा डण्डी स्वामी (केवलानन्द)को शालिक निर्माण गर्न निर्माण कार्यको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावल,वडा अध्यक्ष टंक साउँदले संयुक्त रूपमा शालिन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

गाउँपालिका अध्यक्ष साउँदले डण्डी स्वामीले शिक्षा, कला र संस्कृतिको संरक्षणमा पुर्याएको योगदानलाई सम्मान गर्दै उहाँको सम्झना र सम्मानमा हुन लागेको शालिक निर्माण कार्यले समाजमा नयाँ प्रेरणा दिने बिश्वास लिएका छन् ।

शालिक निर्माणसंगै स्थानीय कला, संस्कृति र शिक्षाको विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष बिन्दु रावलले डण्डी स्वामीले शिक्षा, कला र संस्कृतिको संरक्षणमा पुर्याएको योगदानलाई सम्मान गर्दै यस्ता व्यक्तित्वको सम्झनामा गरिने शालिक निर्माण कार्यले समाजमा प्रेरणा फैलिने बताएकि छन् ।

डण्डी स्वामी शालिक निर्माण समितिमार्फत शालिक निर्माण गर्न वडा, गाउँपालिका र स्थानीय व्यक्तिहरूबाट करिब ८ लाख रुपैयाँ संकलन गरिएको छ।

समितिले शालिक निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने समितिका सदस्य हिरेण्ड साउँदले बतााएका छन् ।

को हुन् डण्डी स्वामी ?
स्वामी केवलानन्द, जसलाई डण्डी स्वामीको रूपमा पनि चिनिन्छ। डण्डिस्वामीबारे जानकार तथा अगुवा पूर्ण रावलका अनुसार डण्डिस्वामीले आफ्नो महत्वपूर्ण समय साविकको कालिका गाविस (हाल बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५, कालिका बाँचकोट) स्थित बडिनाव र सुँगाली हेराउ ढुङ्गामा आश्रम स्थापना गरेर बिताएका थिए।

स्वामीले १९५० देखि १९६० को दशकमा शिक्षाको ज्योति फैलाउनुका साथै समाजको संस्कृतिसँग मेल खाने परम्परागत कला र खेलहरूको प्रवर्द्धन गरेका थिए। उनले विशेषगरी होरी, भूभोज र धमारी जस्ता सांस्कृतिक विधालाई लोकप्रिय बनाएका थिए। बडिनावमा बसोबास गर्दा उनले वि.सं. १९५७ मा “अष्टाङ्ग योग” नामक पुस्तकसमेत प्रकाशित गरेका थिए।

डण्डी स्वामीका शिष्यहरू र उनीहरूको योगदान
डण्डी स्वामीले आफ्ना २१ जना शिष्यहरूलाई उनीहरूको रुचि र स्वभावअनुसार शिक्षा प्रदान गरेका थिए। उनका शिष्यहरू अछामको राजनीति, होरी गायन, बाजागाजा, सवाई साहित्य तथा ज्योतिषशास्त्रमा प्रसिद्धि कमाएका थिए।

केही प्रमुख शिष्यहरू:
इन्द्र सिंह रावल (जुपु, अछाम) – राजनीतिज्ञ
झपट रावल (ओलीगाउँ, अछाम) – न्यायाधीश
राम मिझार (तिमिल्सैन) – सवाई साहित्य लेखक
फुछु जोशी (कालागाउँ/रोल) – प्रख्यात ज्योतिष
साइमल ढोली (लुगाणा) – प्रसिद्ध बाजागाजा बादक
नरपति ढोली (जुपु, अछाम) – पारंगत बाजागाजा बादक
ज्योति रावल र अमर रावल (सुँगाली) – पारंगत गायक तथा संगीतकार

डण्डी स्वामी भारतको कश्मीरबाट नेपाल आएको जनश्रुति पाइन्छ। स्थानीय जानकारहरूका अनुसार उनी प्रारम्भमा बाँचकोटस्थित करवीर साउँदको घरमा बस्न आएका थिए।

करवीर साउँद र केवलानन्द डण्डी स्वामी ब्रिटिश सेनामा साथी थिए भन्ने जनश्रुति रहेको छ। त्यसपछि उनले बडिनावमा कुटी निर्माण गरी बसेका थिए भने पछि सुँगालीमा अर्को कुटी स्थापना गरेका थिए।

डण्डी स्वामीको नाम केवलानन्द भए पनि “डण्डी स्वामी” भने उनको पद थियो। नाथ सम्प्रदायमा एकदण्डी, दण्डी, त्रीदण्डी र चौदण्डी भन्ने परम्परा रहँदै आएको छ।

स्वामीले १६ छन्दको प्रयोग गरी ३३ अध्यायमा रामचरित्र तथा ३९ अध्यायमा कृष्ण चरित्रलाई होरी संगीतको रूपमा प्रस्तुत गरेका थिए।

वि.सं. १९९२ तिर उनी सुगालीस्थित नवाघर कुटीमा ब्रह्मलिन भएका थिए।

टिकापुरमा डण्डी स्वामीको सालिक अनावरण : को हुन् उनी ?

 


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode