गाउँ विकासमा युवाको एकता र रचनात्मक सञ्चार आवश्यक : अध्यक्ष साउँद

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले युवा पुस्ताले एकताका साथ सकारात्मक सञ्चार प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
धारासैनमा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष साउँदले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै समाज, गाउँ, टोल र देश विकासका लागि उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।
अध्यक्ष साउँदले पछिल्लो समय युवाहरूमा नकारात्मक सोच हावी हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनीहरूलाई निराशा र अभावका मात्र होइन,आशाको सञ्चार गर्नतर्फ अग्रसर हुन आह्वान गरे।
साथै सामाजिक सञ्जाल र सूचना प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्त्याएको उल्लेख गर्दै आफ्ना जिज्ञासा,असन्तुष्टि तथा सुझाव सभ्य रूपमा व्यक्त गर्नुपर्नेमा जोड दिए।
गाउँपालिकाको कामकारबाहीप्रति गुनासो वा असन्तुष्टि भए सभ्य तरिकाले सुझाव दिने र खबरदारी गर्ने संस्कार विकास गर्नुपर्नेमा उनको विशेष जोड थियो ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया