धारासैनमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा
सूचना प्रविधिको सहि सदुपयोग गर्न अध्यक्ष साउँदको आग्रह

अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी धारासैनमा सम्पन्न वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले उचालेको छ। धारासैन युवा क्लबको आयोजनामा सम्पन्न खुला पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीले दर्नालाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।
प्रतियोगितामा विजेता बनेको आयोजक टोलीले मेडल, ट्रफीका साथै नगद रु. ५०,००० प्राप्त गरेको छ भने द्वितीय स्थान हासिल गरेको दर्ना टोलीले मेडल, ट्रफी सहित रु. ३०,००० हात पारेको छ। यस्तै साँफेबगरको हाडासैनलाई पराजित गर्दै तृतिय स्थान हासिल गरेको नन्देगडाले मेडल, ट्रफी सहित रु. २०,००० प्राप्त गरे। हाडासैन साँफेले सान्त्वना स्थानमा चित्त बुझाउँदै नगद रु. ४,००० प्राप्त गर्यो।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि हिक्मत साउँदले हासिल गरे। सोमवारदेखि सुरु भएको प्रतियोगितामा १४ वटा टिम सहभागी भएका थिए।
प्रतियोगिता आयोजक समिति संयोजक खेमराज साउँदको अध्यक्षतामा भएको समापन समारोहमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले प्रतियोगिता सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै खेलकुद लगायत रचनात्मक गतिविधिमा गाउँपालिकाको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।
साथै चैते दशैं, नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किएका दाजुभाइलाई चाडपर्व शान्तिपूर्ण रूपमा मनाउँदै मेलमिलापको सन्देश फैलाउन आग्रह गरे।
सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष साउँदले सूचना प्रविधिको सही सदुपयोग गर्दै समाजमा सकारात्मक पहिचान बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध मजबुत बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आयोजकलाई धन्यवाद ज्ञापन गरिन्।
उनले युवाहरूलाई खेलकुद प्रतियोगिता तथा अन्य रचनात्मक कार्यमा संलग्न हुन प्रेरित गरिन्।
समारोहमा वडा अध्यक्ष नवराज साउँद, वडा सदस्य पूर्णबहादुर शेट्टि, महिला नेतृ निर्मला साउँद लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन खगेन्द्र साउँदले गरेका थिए।
क्याटेगोरी : खेलकुद, पालिका, राष्ट्रिय, सुदूरपश्चिम
प्रतिक्रिया