बाजुरामा बस दुर्घटनामा बालकको मृत्यु, आमा घाइते – सडक अवरुद्ध

बाजुरा – बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु र आमा गम्भीर घाइते भएपछि आक्रोशित आफन्तले साँफे–मार्तडी सडकखण्ड बन्द गरेका छन्। उनीहरूले दोषीमाथि कारबाही, उचित क्षतिपूर्ति तथा घाइतेको शीघ्र उपचारको माग राख्दै सडक अवरुद्ध पारेका हुन्।
बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अर्जुनप्रसाद पाध्यायका ८ वर्षीय छोरा नयन पाध्यायको ज्यान गएको छ। मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय गम्भीर घाइते भएकी छन्।
प्राप्त जानकारी अनुसार धनगढीबाट बाजुराको मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बस पसलअगाडि रोकेर राखिएको थियो। पुनः बस सञ्चालन गर्ने क्रममा ब्रेक फेल भएर छेउमै रहेका आमा–छोरालाई ठक्कर दिएको बताइएको छ।
घाइते छोरालाई तत्कालै बाजुरा जिल्ला अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो। घाइते आमालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। गर्भवती समेत रहेकी बिस्ना पाध्यायको खुट्टा च्यापिएर गम्भीर चोट लागेको छ।
सडक अवरुद्ध
सडक बन्द भएपछि काठमाडौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायतका जिल्ला जाने तथा बाजुरा सदरमुकाम मार्तडी आउने–जाने सवारी साधन ठप्प भएका छन्। मृतकका आफन्त नवराज पाध्यायले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेको बताएका छन्।
घटना साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा भएको हो।
दुई साताअघि मात्र बुढीगंगा नगरपालिकामा बसको ठक्करबाट अर्का एक बालकको मृत्यु भएको थियो । स्थानीय होटल तथा पसल सडक छेउमै रहेका कारण बालबालिका खेल्ने क्रममा सडकमा निस्किन पुग्छन्,जसका कारण अति तीव्र गतिमा गुड्ने सवारीसाधनले ठक्कर दिने घटना दोहोरिने गरेको स्थानीयको गुनासो छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया