अछाममा लुकेको खजाना: ७१ मिटर अग्लो छडान देवी झरना

अछाम- अछाम जिल्लाको कमलबजार नगरपालिका–७ मा अवस्थित छडान देवी झरना ७१ मिटर अग्लो रहेको पुष्टि भएको छ। श्री मनकामना देवी माध्यमिक विद्यालय का विद्यार्थीहरू र शिक्षकहरूको शैक्षिक भ्रमणका क्रममा गरिएको मापनअनुसार यो झरना अछामकै सबैभन्दा अग्लो झरना हो ।
छडान देवी झरना अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। हरियालीले ढाकिएको यस क्षेत्रमा विभिन्न प्रकारका चराचुरुङ्गीहरू पाइन्छन्, जसले वातावरणलाई झनै मनोरम बनाउँछ। विशेष गरी कोइलीको कुहुकुहु आवाज ले आगन्तुकहरूलाई लोभ्याउने गर्छ।
धार्मिक र ऐतिहासिक महत्व
स्थानीय जनश्रुति अनुसार परापूर्वकालमा देवीले यही झरनामा नुहाउने गर्थिन्, जसका कारण यसको नाम छडान देवी झरना रहन गएको हो । झरनाको धार्मिक महत्त्वलाई थप बढाउँदै स्थानीय भीमबहादुर भण्डारी ले आफ्नै लगानीमा नजिकै शिव मन्दिर निर्माण गरेका छन् ।
झरनाको आसपासका क्षेत्रहरूमा बहुमूल्य जडीबुटीहरू समेत पाइन्छन् । यहाँ गेरु जडीबुटी समेत फेला परेको छ, जसले यो क्षेत्रको प्राकृतिक महत्वलाई उजागर गर्छ।
पर्यटकीय गन्तव्यको अपार सम्भावना
यदि राज्य वा सम्बन्धित निकायहरूले आवश्यक लगानी गर्ने हो भने, छडान देवी झरनालाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य को रूपमा विकास गर्न सकिन्छ।
पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन र प्रचारप्रसार गरिएमा यसले स्थानीय अर्थतन्त्रलाई मजबुत पार्ने मात्रै होइन, अछामको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया