महानायक हमाल ढकारी आउँदै : गाउँपालिकाको १५ लाख सहयोगमा ‘अन्धपथ’को छायाङ्कन

अछामको ढकारी गाउँपालिकामा नेपाली चलचित्र ‘अन्धपथ’ को छायांकन हुने भएको छ। चलचित्र छायांकनका लागि महानायक राजेश हमाल सहितका कलाकार फागुन ७ गते ढकारी आउने भएका छन्।
आरजे मिडिया प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यो चलचित्र रामकाजी घिमिरेको लेखन तथा निर्देशनमा तयार हुँदैछ। निर्माता रामकाजी लम्सालका अनुसार चलचित्रको छायांकन फागुन ८ गतेबाट ढकारीमा सुरु हुनेछ।
चलचित्रमा महानायक राजेश हमाल, सुनिल थापा, सुभाष गजुरेल, उत्तम केसी, सञ्जीत भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, भेग पहारी, शम्भु ढुंगाना लगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथावस्तु अनुरूप ढकारी गाउँपालिकाका ३० जना स्थानीय छात्राछात्राहरू लाई पनि अभिनयमा समावेश गरिने भएको छ। ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँदका अनुसार चलचित्रले ढकारीको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नेछ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्देश
निर्देशक रामकाजी घिमिरेका अनुसार ‘अन्धपथ’ ले युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रेरणा दिनेछ। साथै, चलचित्रमा बाल विवाह, छाउपडी प्रथा जस्ता सामाजिक समस्याहरूलाई पनि उठान गरिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा छायांकन
यो चलचित्र अछामको ढकारीसहित कर्णाली, रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ। विसं २०८२ को असोज/कात्तिकमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिकाको १५ लाख सहयोग
ढकारी गाउँपालिकाले चलचित्र निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। अध्यक्ष प्रकाश साउँदका अनुसार चलचित्रले ढकारी गाउँपालिकाको प्रचार-प्रसारमा टेवा पुर्याउने विश्वास गरिएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया