जाल्पादेवी माविमा छात्राहरू बेहोस हुने घटना: समाधान खोज्दै सरोकारवाला टोली

अछाम । मंगलसेन नगरपालिका–७ जनालीस्थित जाल्पादेवी माध्यमिक विद्यालय मा छात्राहरू बेहोस हुने घटनाले स्थानीय समुदाय र विद्यालय प्रशासनलाई चिन्तित बनाएको छ।
कक्षा २ देखि १० सम्म अध्ययन गर्ने करिब २७ जना छात्राहरू अचानक बेहोस हुने, चिच्याउने, रुने, छटपटाउने, एकअर्कालाई चिथोर्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर काँप्ने, रिंगटा लागेर ढल्ने जस्ता समस्याबाट पीडित भएका छन्।
समाचार संचारमाध्यमहरूमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछामको पहलमा सरोकारवाला निकायहरूसँग छलफल गरी विद्यालयमै स्थलगत अध्ययन गरिएको छ।
स्थलगत अध्ययन र छलफल
छात्राहरूको स्वास्थ्य समस्या र यसको सम्भावित कारण खोज्न मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल सोडारी, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारी, प्रमुख अनुसन्धान अधिकृत दिल बहादुर चौधरी, जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डा. कमलेश यादव, एकद्वार संकट व्यवस्थापन केन्द्रकी मनोसामाजिक परामर्शकर्ता पार्वती बोहरा, पत्रकार मेनुका ढुंगाना लगायतको टोली विद्यालय पुगेको थियो।
छलफलमा विद्यालयका प्रधानाध्यापक, शिक्षक वर्ग, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी थिए।
अन्धविश्वासका कारण समस्या बल्झिएको आशंका
छात्राहरूमा देखिएको यो समस्याबारे विभिन्न कोणबाट अध्ययन भइरहेको भए पनि कतिपय स्थानीय बासिन्दाहरूले अन्धविश्वास र परम्परागत मान्यताहरूको प्रभावका कारण समस्या दोहोरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी भण्डारी का अनुसार, “हरेक क्षेत्रबाट पुराना परम्परागत रुढीवादी सोच तथा अन्धविश्वासकै कारण समस्या बल्झिएको भन्ने गुनासो आएको छ। त्यसैले स्थलगत छलफल र अनुसन्धान आवश्यक देखिएको छ।”
समस्या समाधानका लागि समन्वय र पहल
छलफलमा सहभागी सरोकारवालाहरूले समस्या समाधानका लागि निम्न कदमहरू अघि बढाउने सहमति गरेका छन्:
• मनोसामाजिक परामर्श सेवा थप प्रभावकारी बनाइने।
• छात्राहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा उपचारको व्यवस्था गरिने।
• अभिभावकहरूलाई सचेत पार्ने अभियान सञ्चालन गरिने।
• विद्यालय प्रशासन, स्थानीय सरकार, सुरक्षा निकाय र स्वास्थ्यकर्मीबीच समन्वय गर्दै दीर्घकालीन समाधान खोजिने।
विद्यालय प्रशासन, स्वास्थ्यकर्मी, मनोविद्हरू तथा स्थानीय सरकारको संयुक्त प्रयासले यस समस्याको समाधान हुने अपेक्षा गरिएको छ। सरोकारवालाहरूको निरन्तर अनुगमन र हस्तक्षेप आवश्यक रहेको विज्ञहरू बताउँछन्।
अछामको एक बिद्यालयमा दिनहुँ ढल्छन् छात्रा : मास हिस्टेरिया वा मानसिक तनाव ?

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया