नयाँ दल खोल्ने तयारीमा रहेका रावलको पत्रकार सम्मेलन आज : आफूमाथि लागेका आरोपको प्रतिवाद गर्ने
काठमाण्डाैँ । नेकपा (एमाले) ले पार्टीको संगठित सदस्यबाट समेत निष्कासित गरेका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले आज दिउँसो १ बजे पत्रकार सम्मेलनको तयारी गरेका हुन् ।
दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा रावलले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आजको पत्रकार सम्मेलनमा रावलले एमालेले आफूमाथि लगाएका आरोपको पनि खण्डन गर्ने उनीनिकट नेताहरूले बताएका छन् ।
रावलनिकट एकेन्द्र कुँवर भन्छन्, ‘अहिले एमालेका नेताहरू जसरी भीम रावल आफैँले पार्टी छोडेका हुन् भन्दै आरोप लगाइरहनुभएको छ, त्यसको जवाफ दिन र आगामी दिनमा कसरी जाने भन्नेबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्न लागिएको हो । रावलले पार्टी छोड्नुभएको हो कि एमालेले निकालेको हो, झन् प्रस्ट हुनेछ ।’
अर्थात् रावलले आजको पत्रकार सम्मेलनमार्फत एमाले नेताहरूले लगाएको आरोपको खुला रूपमा प्रतिवाद गर्ने छन् । एमाले महासचिव शंकर पोखरेलले सुध्रने मौका दिँदा पनि नसुध्रेको आरोप लगाएका थिए । रावल आफैँ पार्टीबाट बाहिरिएको पोखरेलको भनाइ थियो ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया