Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

डाैठेगडा मेलाकाे तयारी तिव्र : यस्ताे छ डाैठेगडा मेलाकाे इतिहास !


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर १ गाज्रामा लाग्ने डौठेगडा मेलाका लागी आवश्यक तयारी तीव्र पारिएको छ ।

हरेका बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने डौठेगडा मेलालाई यस बर्ष पनि सम्पन्न गर्न मेला व्यवस्थापन समिति गठनसँगै अन्य आवश्यक तयारी तीव्र पारिएको हो ।
कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेलाको यस वर्षको तिथि यही कार्तिक ३० गते शुक्रवार रहेको छ ।

मेललाई सम्पन्न गर्न राम बहादुर थापाको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । समितिले मेला अवधिभर मदिरा निषेध गर्ने, मेलाको शान्ति सुरक्षाका लागी सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको संयोजक राम बहादुर थापाले जानकारी दिएका छन् ।

ऐतिशासीक महत्त्व बोकेको डौठेगडा मेलाको तयारीका लागी बोलाइएको भेलामा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर प्रमुख अतिथि र उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए ।

वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि साउदले ऐतिहासिक मेलाको महत्त्व र गरिमालाई बचाई राख्नुपर्नेमा जोड दिएका थिए । विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले मेलामा बढ्दै गएको विकृतिबारे चिन्ता व्यक्त गर्दै मेलालाई शान्तिपूर्वक सम्पन्न गर्न सवैमा आग्रह गरेकी थिइन् ।

डौठेगडा मेलाको महत्त्व र इतिहास :

डौठेगडाको मेलाको छुट्टै विशेषता छ ।  मेलाका लागि गाउँपालिकाले सार्वजनिक बिदा समेत दिँदै आएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ–१ गाज्रामा लाग्ने यो मेलामा दर्जनौँको सङ्ख्यामा राँगा र बोकाको बलि दिइन्छ ।

नेपाल एकीकरणसँग जोडिएको इतिहास रहेको डौठेगडा मेला भर्न हजारौँको सङ्ख्यामा श्रद्धालु भेला हुने गरेका छन् । यो मेला ऐतिहासिक मात्रै होइन धार्मिक विश्वाससँग जोडिएको भएकाले धेरैको सहभागिता हुने गरेको छ ।

यो मेला वि.स. १८४९ सालदेखि मनाइँदै आएको मानिन्छ । सयौँ राँगा र बोकाको बली दिएर यहाँ बर्दादेवी माताको पूजा गरिन्छ ।गरेको भाकल वा मनोकाङ्क्षा पुरा भयो भने बली चढाउने परम्परा छ । नेपाल एकीकरणका बेला बाइसे चौबीसै राज्य थिए । सिकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको मानिन्छ ।

इतिहास अनुसार नेपाल एकीकरणका लागि पुगेका सेना र अछामी राजाका सेनाबिच लडाइ भएको थियो । पहिलो आक्रमणमा नेपाल राज्यका सेनाले जित्न सकेनन् । राजाले ‘गाउँका मुखियाको टाउको काट्नू’ भन्ने आदेश दिएपछि अछामका गाउँ गाउँमा रहेका मुखियाहरूलाई नियन्त्रणमा दिइएको थियो ।

गाज्राका मुखिया सिकिन्दर खड्काले नेपाल राज्यका घाइते सेना नाइकेलाई उपचार सेवा दिएका थिए । ती नाइके सिकिन्दरका मित थिए । उनलाई पनि मार्ने आदेश आएपछि नाइकेले अछाम र दैलेखको सीमा कर्णाली नदीको किनार बेलखेतमा पुर्याए र मीत भएकाले ‘मार्न सक्दिन । इष्टदेवी स्मरण गरेर भाग्न’ भने ।

सिकिन्दरले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फाले । सकुशल नदी तरे । पौडी खेल्न नजान्ने खड्काले आफू तरेर पारी जान सके डौंठेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए । सहजै नदी पार गरेपछि गाउँमा फर्किएर उनले डौठेगडामा दौडाउँदै राँगाको बली दिए । मेला यही किंवदन्तीमा आधारित रहेको जनविश्वास छ ।

यहाँ अछामसँगै बाजुरा, डोटी, कैलाली लगायत विभिन्न जिल्लाबाट मेला भर्न हजारौँ भेला हुने गरेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode