Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अमेरिकाले नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने


काठमाण्डौ – नेपाली किसानहरू लाभान्वित हुने गरी संयुक्त राज्य अमेरिकाले दुई वटा योजना र सहयोग रकमको घोषणा गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ८० करोड रुपैयाँ बराबरको यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाको आज घोषणा संयुक्त घोषणा गरेका छन् ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालका लागि पनि योजना उद्घाटन गरिएको छ ।

यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले सङ्घीय, प्रदेश र पालिकामार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई जोड दिनेछ ।

परियोजनाले ६९ हजार वटा घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।

यस्तै विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालको योजना २०२४–२०२८ गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यसअन्तर्गत तराई र पहाडका २६ वटा जिल्ला समावेश हुनेछन् ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि आजको उद्घाटन कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवर्द्धन गर्न दुवै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै सहकार्यप्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

सन् २०११ देखि चलिरहेको अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आठ लाखभन्दा धेरै नेपालीलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवर्द्धन र पोषणमा सुधारका लागि २४ अर्ब रुपैयाँभन्दा धेरै सहयोग गरिसकेको छ ।

यी पहलहरूले गर्दा कार्यक्रम सञ्चालन भएको जिल्लामा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको अमेरिकाको दाबी छ ।


क्याटेगोरी : अर्थ-वाणिज्य, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode