Hikmat Acharya
  • १ असार २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा सिँचाइ कुलो र पोखरी निर्माण गर्न साढे २० करोड बजेट विनियोजन


सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेटमा सिँचाइ कुलो र पोखरीका साढे तीन सय योजनाका लागि बजेट विनियोजन गरेको छ।

कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने योजनाका लागि साढे २० करोड बजेट विनियोजन गरिएको हो। सिँचाइ कुलो, पोखरी, कुलो मर्मत र लिफ्ट सिँचाइ योजनाको नाममा अधिकांश योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ।

बजेट ल्याउनु अघि टुक्रे तथा व्यक्ति विशेषका योजनामा बजेट नहाल्ने दाबी गरेको सुदूरपश्चिम सरकारले सिँचाइ कुलो र पोखरी निर्माणको नाममा बजेट छर्ने काम गरेको छ। बजेट निर्माण पूर्व २५ लाखभन्दा कम रकम भएका योजना नल्याउने घोषणा गरेको सुदूरपश्चिम सरकारले बजेटमा भने सबैभन्दा बढी पाँच र १० लाख रकमका योजना समेटेको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा बग्रेल्ती अनुदानका योजनामा बजेट विनियोजन गरेको छ। कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने सिँचाइ कुलो र पोखरीमा सुदूरपश्चिम सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको छ। प्रदेशका ९ जिल्लामा ३४९ सिँचाइ कुलो, पोखरी र लिफ्ट सिँचाइ तथा सिँचाइ कुलो मर्मतमा सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको हो।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले सिँचाइका योजनामा सबैभन्दा बढी बजेट कञ्चनपुरका लागि विनियोजन गरेको छ। केन्द्र सरकारको महाकाली सिँचाइ आयोजना समेत रहेको कञ्चनपुरमा प्रदेश सरकारले २० वटा सिँचाइका योजनाका लागि तीन करोड ७७ लाख बजेट विनियोजन गरेको हो। दोस्रो बढी योजना पाएको अछाम जिल्लामा ७२ सिँचाइ कुलो र पोखरीका योजनामा तीन करोड २९ लाख बजेट विनियोजन गरिएको छ। अछाममा ३५ सिँचाइका योजनामा ३ लाखका दरले बजेट विनियोजन गरिएको छ। तीन लाखका योजनामा एकै शिर्षकमा बजेट राखेर सो बजेट १३ योजनामा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। अछाममा ३२ सिँचाइका योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ। सिँचाइ योजना मर्मत शिर्षकमा मात्रै एकमुष्ट ६० लाख बजेट छ।

तेस्रो बढी सिँचाइको योजना पाउने जिल्ला बझाङमा ३४ पोखरी र कुलोको योजनामा २ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ। बझाङका अधिकांश योजनामा पनि पाँच लाखका दरले बजेट विनियोजन गरिएको छ। सरकारले कैलालीका १४ सिँचाइका योजनाका लागि एक करोड ९३ लाख, बैतडीका २४ कुलो र पोखरीको योजनाका लागि एक करोड ८५ लाख, डोटीमा १५० कुलो र पोखरीका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ। यस्तै, डडेल्धुरामा ८ सिँचाइ योजनाका लागि ४५ लाख र सिँचाइ योजना मर्मत सम्भार शिर्षकमा थप ६० लाखसहित एक करोड २० लाख बजेट विनियोजन गरिएको छ।

दार्चुलामा १८ सिँचाइ योजनामा ६२ लाख र सिँचाइ योजना मर्मत सम्भारमा थप ५४ लाखसहित एक करोड १६ लाख र सबैभन्दा कम बाजुरामा ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट छुट्याएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तटबन्धका टुक्रे योजनामा बजेट विनियोजन गरेजस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि सिँचाइका टुक्रे योजनामा पाँच लाखका दरले बजेट विनियोजन गरेको पाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode