Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिकामा सूचना लुकाउन भ्याइ नभ्याई : सूचनाको हकको ठाडो उलंघन


बान्नीगढी जयगढ गाउँपालिकाले नागरिकको सूचनाको हक विपरीत मनपरी गर्ने गरेको छ ।

सूचनाको हक अन्तर्गत गाउँपालिकासँग सम्बन्धित सूचना उपलब्ध नगराएर गाउँपालिकाले मनपरी गर्ने गरेको हो । गाउँपालिकासँग सम्बन्धित नागरिकले सूचना माग गर्दै निवेदन दिए पनि गाउँपालिकाले सूचना लुकाउँदै आएको छ ।

रेडियो बान्नीगढीका कार्यकारी निर्देशक तथा पश्चिम रैवारका प्रकाशक धन साउँदले गाउँपालिकाका बिभिन्न विषयवस्तुमा सूचना माग गरेको ३ महिना बित्दा पनि गाउँपालिकाले कुनै सुनुवाइ गरेको छैन ।

गएको माघ १० गते साउँदले गाउँपालिकामा बिभिन्न बुँदामा सूचना माग गर्दै गाउँपालिकामा निवेदन गर्दा गराएका थिए । सूचना माग माग गरेको ३ महिना बितिसक्दा समेत गाउँपालिकाले सूचना दिनुको सट्टा बिभिन्न बहाना देखाएर सूचना लुकाउँदै आएको छ ।

माघ १० गते सूचनाका लागी दर्ता भएको निवेदनमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले तोकादेश गर्दै सूचना अधिकारीलाई नियमानुसार उपलब्ध गराउन निर्देशन दिएका थिए ।


निवेदन दर्ता गर्ने क्रममा नियमानुसार केहि दिनमै सूचना उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकृत रावल हाल सूचना दिने प्रतिबद्धताबाट पछि हट्दै आएका छन् ।

सूचना उपलब्ध गराउन निर्देशन दिएको २ महिना दिन पुग्नै लाग्दा समेत सूचना नपाएकोबारे निवेदक साउँदले ताकेता गरेपछि गाउँपालिकाले निवेदनमा सूचना माग गर्नुको कारण नखुलेको बहाना देखाएर गएको फागुन २३ गतेमात्रै सूचना उपलब्ध गराउन नसकिएको पत्र थमाएको थियो ।

गाउँपालिकाको उक्त पत्र पश्चात् निवेदक साउँदले अध्ययन तथा सूचना,समाचार सम्प्रेशणका लागी सूचना आवश्यक भएको ब्यहोरा सहित फागुन २४ गते गाउँपालिकामा निवेदन पेश गरेका भए पनि हालसम्म निवेदनको कुनै सुनुवाइ भएको छैन ।

यता गाउँपालिकाका सूचना अधिकारी तिलक ठकुल्लाले भने माग गरिए अनुसारका सूचना सम्बन्धित शाखाबाट पटक पटक माग गर्दा पनि शाखाले उपलब्ध नगराएका कारण सूचना दिन नसकिएको प्रतिक्रिया दिएका छन् ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा २ को १ अनुसार भने दिन सकिने सूचना भए निवेदन प्राप्त हुदासाथ र नभएमा बढीमा १५ दिन भित्र सूचना उपलब्ध गराई सक्नुपर्ने उल्लेख गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा सार्वजनिक निकायले आफूसँग सम्बन्धित सूचना माग भए अनुसार उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको भए पनि बान्नीगढी जयगढ गाउँपालिकाले नियमको उलंघन गर्दै आएको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode