Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प


काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।

सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।

बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७।४ म्याग्निच्युडको भूकम्पपछि ६।५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।

सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।

ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ ।

पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।

स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ । मानिसहरु खुला स्थानमा गएर बसेको पनि देखिन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode