Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बेथिति

बुढीगंगामा नियम विपरीत क्रसर : अनुगमनबाट किन भाग्छन् सरोकारवाला (भिडियो सहित)


जिल्लाको बुढिगंगा नदिमा अस्थायी क्रसर उद्योग संचालन अनुमतिको आडमा ठेकेदार र व्यापारीहरूले मिलेमतोमा लुट मच्चाइरहँदा समेत सरोकारवाला मौन देखीएका छन् ।

बज्रगुरु कन्स्ट्रक्सन र नाति कन्ट्रक्सनका संचालक र साँफेस्थित केही व्यापारीहरूले अस्थायी क्रसर उद्योग संचालनको अनुमतिको आडमा लुट मच्चाइरहेका भए पनि जिल्लास्थित सरोकारवाला मौन देखिएका हुन् ।

बुढिगंगा नदिवाट नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवाको अवैध कारोबार हुँदा समेत प्रशासन लगायतका सरोकारवाला निकाय मौन बस्नुले ठेकेदार तथा व्यापारीसँग उनीहरूको मिलेमतो रहेको हुन सक्ने गम्भीर आशङ्का पैदा भएको छ ।

जिल्लामा जयगढ रामारोशन सडक अन्तर्गत जयगढ दर्ना सडक खण्डको जिम्मा पाएको बज्रगुरु कन्स्ट्रक्सन र साफे मेल्लेख सडक निर्माणको जिम्मा पाएको पी.एस. बानिया जे.भि. अन्तर्गतको नाति कन्ट्रक्सनले साँफेबगरस्थित बुढिगंगा नदिमा अस्थायी क्रसर उद्योग संचालनको अनुमति पाएका छन् ।

निर्माणको जिम्मा पाएको सडक खण्डमा आवश्यक पर्ने नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी,बालुवाको सहज व्यवस्थापनका लागि उनीहरूलाई अस्थायी रुपमा क्रसर संचार्टर लनको अनुमति दिइएको छ । यसको अर्थ उनीहरूलाई सडक खण्डमा आवश्यक पर्ने सम्मको नदीजन्य पदार्थ उत्खनन गर्ने मात्र अधिकार हुन्छ ।

तर बुढिगंगा नदिमा भने अस्थायी क्रसर संचालनका नाममा नदीजन्य पदार्थको कारोबार नै हुने गरेको छ ।

निर्माण कम्पनीसँग संलग्न क्रसर उद्योग कारोबारी :

१) दीर्घ बहादुर ठकुल्ला (बज्रगुरु कन्स्ट्रक्सन)

साँफेबगर नगरपालिकाको वडा नम्बर ७ मा पर्ने बुढिगंगा किनारमा बज्रगुरु कन्ट्रक्सनको नाममा अस्थायी क्रसर संचालनको अनुमति छ ।

कागजमा बज्रगुरु कन्ट्रक्सनको नाममा देखिने यो क्रसर उद्योग साँफेबगरका प्रतिष्ठित व्यापारी दीर्घ ठकुल्लाको नेतृत्वमा संचालनमा छ ।

बज्रगुरु कन्ट्रक्सनले आर्थिक मिलेमतोमा आफ्नो नामको क्रसर उद्योगको अनुमति ठकुल्लालाइ दिएको छ । तर यो क्रसर उद्योगबाट बज्रगुरु कन्ट्रक्सनले आफ्नो निर्माण साइटमा हालसम्म कुनै पनि गिट्टी लगेको छैन ।

२ बर्षदेखी संचालनमा रहेको यो उद्योगबाट उत्पादित गिट्टी,बालुवा,ढुङ्गा बिक्री बितरण भइरहेका छन् ।

बज्रगुरु कन्ट्रक्सनले जिम्मा पाएको निर्माण साइटमा आवश्यक पर्ने नदीजन्य पदार्थहरूको सहजताका लागि स्टिमेट अनुसार मात्रै गिट्टी बालुवा उत्खनन गर्न अनुमति दिइएको भए पनि यश उद्योगबाट उत्पादित नदीजन्य पदार्थ जिल्लाका सरकारी अड्डादेखि निजी घर निर्माणमा बिक्री भएका छन्

यो बिषयमा बुझ्न व्यापारी दीर्घ ठकुल्लालाइ टेलिफोन गर्दा बज्रगुरु कन्ट्रक्सनलाइ क्रसर उद्योग संचालनमा आफूले सहयोग गरेको व्यापारी दीर्घ ठकुल्लाले बताए ।

मंगलसैन स्थित नेपाली सेनाको ब्यारेकमा भौतिक पूर्वाधार निर्माणका लागि केही समय पहिले क्रसर उद्योगबाट उत्पादित सामाग्री बिक्री गरिएको उनले सहजै स्वीकार गरे ।

सीमित कामका लागि अस्थायी रुपमा संचालनको अनुमति दिइएको क्रसर उद्योगबाट अवैध कारोबार भईरहेको तथा किन व्यापारीलाई सुम्पिएको बिषयमा बुझ्न बज्रगुरु कन्ट्रक्सनका प्रबन्ध निर्देशक रेवन्त बस्नेतलाई सम्पर्क गर्दा उनको टेलिफोन कहिदिन देखि सम्पर्क भन्दा बाहिर छ ।

२) भीम कुँवर ( पी.एस.बानिया जे.भी.- नाति कन्स्ट्रक्सन)

अछामको साँफेबगर मेल्लेख सडक खण्ड कालोपत्रेको जिम्मा पाएको पी.एस.बानिया जे.भी. अन्तर्गत नाति कन्ट्रक्सनले पनि बुढिगंगा नदिमा क्रसर संचालनको अस्थायी अनुमति पाएको छ । उनलाई साँफेबगरका प्रतिष्ठित व्यापारी भीम कुँवरले क्रसर संचालनमा सघाएका छन् ।

क्रसर उद्योगबाट हालसम्म कुनै पनि कारोबार भने नभएको व्यापारी कुँवर दाबी गर्छन् । उनका अनुसार आफ्नो पेट्रोल पम्प समेत रहेका कारण नाति कन्ट्रक्सनका ठेकेदारसँग व्यापारिक सम्बन्ध रहेको र सम्वन्धकै कारण उनले क्रसर संचालनमा सघाएका हुन् । उनले क्रसर उद्योग संचालनमा आएको ६ महिना मात्रै पुगेको तथा बेला बेला प्राविधिक समस्या आइरहेकाले क्रसरबाट सामाग्री उत्पादन समेत गर्न नपाएको बताएका छन् ।

नाति कन्ट्रक्सनका साइट इन्चार्ज विष्णु रावतले आफूले अस्थायी क्रसर उद्योग संचालन अनुमति पत्रको कुनै पनि दुरुपयोग नगरेको दाबी गरे । आफ्नो साइटका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको व्यवस्थापन बाहेक कारोबार गर्ने कुनै उद्देश्य नरहेको रावतको दाबी छ ।

आर्थिक लेनदेनमा नाति कन्स्ट्रक्सन र बज्रगुरु कन्ट्रक्सनले आफ्नो कम्पनीका नामका पाएको अस्थायी क्रसर उद्योग संचालनको अनुमति साँफेबगरका प्रतिष्ठित व्यापारीलाई सुम्पेका आरोप लाग्दै आएको छ ।

विश्वस्त स्रोतका अनुसार बज्रगुरु कन्ट्रक्सनका नाममा संचालित क्रसर उद्योगले स्थापनादेखि हालसम्मको अवधिका ३ करोड बढीको कारोबार गरेको छ।

जिल्लाका विभिन्न नदीनालामा क्रसर उद्योग संचालनको चाल पाएका सरोकारवाला निकाय भने यश बिषयमा मूकदर्शक जस्तै देखीएका छन् ।

उनीहरूका पछिल्ला हर्कत अनुसार क्रसर उद्योगीसँग उनीहरूको हिमचिम रहेको सहजै आँकलन गर्न सकिन्छ । जसको ज्वलन्त एक उदाहरण हो जिल्ला समन्वय समितिको बैठकको निर्णय कार्यान्वयन नहुनु ।

जिल्ला समन्वय समिति अछामको बैठकले खानीजन्य पदार्थको उत्खननका बिषयमा अनुगमन गर्ने निर्णय पटक पटक गरेको भए निर्णय निर्णयमै सीमित हुने गरेको छ ।

जिल्ला समन्वय समिति अछामका अध्यक्ष ललित बहादुर कुँवरको अध्यक्षतामा अछामका प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुख सहित विभिन्न पालिकाका प्रमुख,उप प्रमुखको उपस्थितिमा सम्पन्न २ वटा बैठकले खानीजन्य पदार्थको उत्खनन र सम्मिलित उद्योगहरू कानुन सम्मत संचालन गर्ने बिषयमा अनुगमन गर्ने निर्णय गरेको छ । निर्णय पुस्तिकामा हस्ताक्षरपछि सरोकारवाला स्वयम् बेखवर जस्तै देखीएका छन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष ललित बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न सरोकारवालाको बैठक र बैठकका निर्णयहरु :-

बुढीगंगा नदिमा अवैध रुपमा क्रसर उद्योग संचालन भईरहेको बिषयमा स्थानीयले केही दिन पहिले मात्रै जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन् ।

उक्त उजुरी पश्चात् बिभिन्न निका लाइ सो बिषयमा सोधपुछ सहित पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी सन्तोष विश्वकर्माले बताए ।

क्रसर उद्योगका नाममा मन परि कारोबार भइरहेका बिषयमा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भने यस बिषयमा आवश्यक कारबाहीको जिम्मा जिल्ला समन्वय समितिलाई दिइएको उल्लेख गरेका छन् ।

यता जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले भने बुढीगंगामा क्रसर उद्योग संचालनका बिषयमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा गहिरिएर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

भिडियो :


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode