Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

काङ्ग्रेस अछामले मनायो मेलमिलाप दिवस


नेपाली काङ्ग्रेस अछामले ४८ औँ मेलमिलाप दिवसको अवसरमा  अन्तरक्रिया गरेको छ ।

जिल्ला पार्टी कार्यालय अछाममा गरिएको अन्तरक्रिया कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले पार्टीका संस्थापक नेताहरूको सम्झना गरेका छन् ।

पार्टीको सुदूर पश्चिम प्रदेश कार्यसमिति सह-महामन्त्री अम्बिका चलाउनेले देश बनाउन सहमति र सहकार्यको आवश्यकता  रहेको बताएकी छन् ।

सहमति र सहकार्यको राजनैतिक नेतृत्व काङ्ग्रेस पार्टीले मात्र गर्न सक्ने भन्दै कार्यक्रमको प्रमुख अतिथि रहेकी चलाउनेले पार्टीभित्र सहकार्य हुनु आवश्यक भएको बताइन ।

कार्यक्रममा प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना विशिष्ट अतिथि थिए । उनले नेताहरूले लिएको मेलमिलापको नीति अहिलेपनी सान्दर्भिक रहेको दाबी गरे ।

पार्टीका कार्यवाहक सभापति नयाँराम बज्गाईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महासमिति सदस्य सुरत बहादुर बिस्ट, पदमराज अधिकारी, भगवती खनाल, अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पुष्पराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ललित कुवर, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउदले मन्तव्य राखेका हुन ।

यस्तै अछाम क्षेत्र नम्बर २ प्रदेश क का सभापति ताराप्रसाद खनाल,अछाम क्षेत्र नम्बर १ प्रदेश क का सभापति महेश खड्का, प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारी, नेबिसंघका केन्द्रीय सदस्य बम स्वार , नेपाल तरुण दलका जिल्ला अध्यक्ष रमेश बिस्ट र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्काले पनि  मन्तव्य राखेका हुन ।

कार्यक्रमको स्वागत मन्तव्य पार्टी उपसभापति अर्जुन ताम्राकारले गरेका हुन भने सञ्चालन जिल्ला पार्टी प्रवक्ता पदमबहादुर शाहले गरे।

के हो मेलमिलाप दिवस :

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode