Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछाम जिल्ला अस्पतालमा मे.सु.( हाकिम ) यादवको आतङ्क : बिरामी हेर्दैनन्,कमिसन खोज्छन्


चिकित्सक (डाक्टर) भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ ? सेतो एप्रोन अनि घाटीमा आला ( स्टेथेस्कोप ) भिरेर बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको दृश्य आँखा अगाडि फनफनी घुम्छ ।

किनकि चिकित्सक ( डाक्टर ) को पहिलो काम अनि भूमिका नै बिरामीको उपचार गर्नु हो । सबै चिकित्सकको दैनिकी एप्रोन र आलाका साथ बिरामीको उपचारमा समर्पित हुन्छ । डाक्टर जहिल्यै बिरामीको उपचारमा लागेको देखिन्छ ।

तर अछामको मंगलसैन पुगेपछि भने चिकित्सक ( डाक्टर ) भन्ने बित्तिकै तपाईँले लगाउने अनुमान फेल खान्छ ।

अछाम जिल्ला अस्पतालमा तिन महिना अघि निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट(मेसु)को हैसियतमा हाजिर भएका आठौँ तहका चिकित्सक डाक्टर रविकुमार यादव सेतो एप्रोन लगाएर,आला समातेर बिरामी हेर्दैनन् ।

चिकित्सक पढ्ने बेला देखि नै अनुशासनको दायरामा नरहने अराजक उनी जिल्ला अस्पताल लाई आफ्नो नर्सिङ होम ( निजी अस्पताल ) सरह ठान्ने र आफू लाई अस्पताल संचालन गर्ने कम्पनीको सिइओ जसरी प्रस्तुत गर्ने गरेको अछाम अस्पताल स्थित समाचार स्रोतले जनाएको छ ।

बिरामी,स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी प्रति अमानवीय व्यवहार देखाउँदै आएका डाक्टर रवि यादवले अछाम जिल्ला अस्पताल लाई राउनी दाउ दाउ (अनावश्यक अति दुख दिने काम) गर्ने थलो बनाएका छन् ।

भैरहवाको युनिभर्सल मेडिकल कलेज पढेका सर्लाहीको मलंगवाका उनको कलेज जीवनको अराजकता अछामको मंगलसैन पुगेपनी शान्त भएको छैन । मेडिकल सुपरिन्टेन्डेन्ट जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर उनी अल्लारे व्यवहार देखाइरहेका छन् ।

यति बेला अछाम अस्पतालमा उनको रजगज यस्तो छ कि डाक्टर रवि यादव चिकित्सक नभएर निरङ्कुश पञ्चायतका अञ्चलाधीश जस्ता देखिन्छन् । जिल्ला अस्पतालका स्थायी , करार र ज्यालादारीमा रहेका सबै कर्मचारी थर्कमान बनेका छन् ।

जिल्ला अस्पताल पुगेको तीन महिना पूरा हुँदा पनि बिरामी हेर्न ओपिडी नपुगेका उनी सबैको सातो लिएर आफू शक्तिशाली बन्ने ध्याउन्नमा लागेका छन् ।

खासगरी डाक्टर रवि यादव आर्थिक उपार्जनमा लागेका छन् । बिरामी भाडमा जान भन्ने शैलीमा प्रस्तुत हुने उनी कमाउनमा लागेपछि जिल्ला अस्पतालमा समस्याको चाङ थपिएको छ ।

उहाँको ध्यान कोटेसन र नियम विपरीतको खरिदमा मात्र छ त्यसैले जिल्ला अस्पतालका सेवा प्रभावित भइरहेका छन् ।

जिल्ला अस्पतालमा सिएस सेवाका लागि चौबीसै घण्टा उपलब्ध हुनुपर्ने एमडिजिपी गरेका विशेषज्ञ चिकित्सक लाई लामो बिदा दिने डाक्टर यादव बाट साना तहका कर्मचारी आफन्त बिरामी हुँदा पनि बिदा पाउदैनन । आमा बिरामी हुँदा बिदा लिएर उपचारका लागि गएकी अनमी विमला देवकोटा दुई दिन ढिलो हुँदा जागिर बाट निकाली दिए ।

यति बेला प्रशासन चलाउने उनको अल्लारे शैलीका कारण अछाम अस्पतालका शल्यक्रिया (अप्रेसन) गरेर बच्चा जन्माउने सिएस लगायतका सबै महत्त्वपूर्ण स्वास्थ्य सेवा प्रभावित हुँदै आएका छन् ।

अस्पताल प्रमुखको चरम लापरबाहीले सिएस सेवा प्रभावित हुँदा सेवाग्राहीले निकै दुख पाएका थिए । अस्पतालमा अप्रेसन गर्ने विशेषज्ञ चिकित्सक हरु लामो बिदामा बस्दा सिएस गर्नुपर्ने महिला लाई अरू अस्पतालमा रिफर गर्नुपरेको थियो ।

डाक्टर यादवको कामकारबाहीको खरो आलोचना गरिरहेका अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटीले अहिलेका मेसु यादव लाई बिदा नगरे सम्म अस्पतालमा सुधार नहुने ठोकुवा गरे ।

उनले भने हामी स्थायी डाक्टर हाकिम बनेर आउँदा खुसी थियौ । तर उहाँ ( डाक्टर रवि यादव ) ले उपचार नगरी बसेपछि हामी लाई आपत्ति भएको हो , अछाम अस्पताल लाई क्वाटरमा बसेर चिठी पत्रमा तोक लगाउने मात्र होइन ओपिडीमा आएर औषधिको लेख्ने डाक्टर चाहिएको हो ।

आफू कार्यालयको आवास (क्वाटर)बाट बाहिर ननिस्किने अछाम अस्पतालका प्रमुख रवि यादवको शासनमा जिल्ला अस्पतालमा सानालाई ऐन अनि ठुला लाई चैन छ ।

ससाना कर्मचारी प्रति निर्मम रुपमा प्रस्तुत हुने उनी अस्पतालका पुराना र अनुभवी कर्मचारी प्रति पनि उत्तिकै असहिष्णु छन् ।

अछाम अस्पतालको प्रशासनिक ु क्षेत्रमा पनि उहाँको कर्के नजर छ । उहाँले प्रशासनिक कर्मचारीलाई पनि काम गर्न नदिँदा प्रशासनिक काम पनि लथालिङ्ग भएको छ । अध्यक्ष बोगटीले भने उहाँले सबैतिर हस्तक्षेप गर्नु भएको छ ।

उनका अनुसार दुई जना विशेषज्ञ चिकित्सक , पाँच जना मेडिकल अधिकृत तहका चिकित्सक र एक जना दन्त रोग विशेषज्ञ रहेको जिल्ला अस्पताल आफू उपचार लगायतका कामबाट टाढा रहने र अरू लाई पनि कम गर्ने वातावरण नदिने डाक्टर रवि यादवको अराजक कार्यशैलीका कारण अस्पताल अस्तव्यस्त भएको छ ।

जिल्ला अस्पतालमा अछाम जिल्लामा लामो सेवा गरेकी एक जना अनुभवी कर्मचारी प्रति उनले गरेको दुर्व्यवहार पछि अरू कर्मचारी पनि त्रसित मानिसका लिएर काम गरिरहेका छन् ।

यति सम्म मात्रै होइन शक्तिको उन्मादमा कानुनको बर्खिलापमा रहेका अछाम जिल्ला अस्पतालका हाकिमले श्रेणी विहीन कर्मचारी लाई हातपात गर्न समेत पछि परेका छैनन् ।

अछाम अस्पताललाई नजिक बाट बुझेका हरु जिल्ला अस्पतालमा पछिल्लो पटक देखिएको अराजकताबाट निकै चिन्तित छन् ।

उनीहरूका अनुसार उन्माद र घमण्डले भरिएका अछामबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका अराजक चिकित्सक डाक्टर रवि यादव लाई रमना दिएर उनको तीन महिना देखिको उन्मादलाई बेलैमा रोक लगाउन जरुरी छ ।

अछाम अस्पताल व्यवस्थापन समितिले पनि काज सरुवा भएका डाक्टर रवि यादव लाई अछाममा राख्दा जिल्ला अस्पताल धराशायी हुने निष्कर्ष निकालेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बोगटीले भने अस्पतालमा उपचार नगरी रजगज गरेर सार्वजनिक साधन र सम्पत्तिमा मोज गरेर बस्ने चिकित्सक राखेर फाइदा छैन उनलाई अब बिदा गरेर अस्पतालमा अर्को कुशल स्थायी चिकित्सक ल्याएर हाकिमको जिम्मेवारी दिनुको विकल्प छैन ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode