Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नियम बिपरित भाडा असुल्ने सवारीलाई चौखुट्टे ट्राफिकद्वारा कार्वाही : अन्य प्रहरी पोष्टले किन पाउँदैनन् चाल ?


अछाम लगायत यस क्षेत्रका यातायात व्यवसायीले सवारी भाडामा मनपरी असुली गर्ने गरेका छन् ।

अछाम,बाजुरा लगायतका पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात व्यवसायीले सर्वसाधारणबाट मनपरी रुपमा भाडा असुली रहेका हुन् ।

जिल्ला भित्रै तथा जिल्ला बाहिर जाने यात्रुहरूबाट उनीहरूले सरकारले निर्धारण गरेको भन्दा बढी भाडा असुल्ने गरेका हुन् । यातायात व्यवसायीले मनपरी भाडा असुल्दा समेत प्रहरी प्रशासन मूकदर्शक बनेपछि सर्वसाधारण प्रत्यक्ष मारमा पर्दै आएका छन् ।

नियमानुसार सवारी साधन चले नचलेको बिषयमा जाँच गर्न अछाम र बाजुराका दर्जन बढी ठाउँमा रहेका प्रहरी चेक पोस्ट औचित्यहीन जस्तै देखीएका छन् ।

सवारी सधान आए गएको रजिस्टर भर्ने बाहेक प्रहरी पोस्टहरूको अन्य भूमिका न्यून देखीएको छ भने यातायात व्यवसायी र प्रहरी तथा ट्राफिक बिच आर्थिक लेनदेनमा सेटिंग हुने गरेको चर्चा समेत चुलिने गरेको छ ।

प्रहरी,ट्राफिक र यातायात व्यवसायीबिच आर्थिक लेनदेनमा सेटिंग रहेको आशँकालाई पछिल्ला केहि घटना क्रमले समेत प्रष्ट पारेको छ । चौखुट्टे ट्राफिक प्रहरी पोस्टको सक्रियताका कारण पछिल्लो समय नियम विपरीत भाडा असुल्ने तथा क्षमताबढि यात्रु बोक्ने सवारी साधन कार्वाहीमा पर्ने गरेका छन् ।

अछामबाट धनगढी गइरहेको सार्वजनिक बसले सरकारले तोकेको भन्दा प्रति यात्रु ५ सय बढी असुलेको घटना सेलाउन नपाउँदै सोमवार बाजुराबाट धनगढी गइरहेको सार्वजनिक बसले प्रति यात्रु ४ सय बढी असुलेको घटना सतहमा आएको छ ।

केहि दिनअघि साँफेबगरबाट धनगढी गइरहेको खप्तड सार्वजनिक यातायातको ना ७ ख २८६६ नम्बरको बसले ११सय ७५ प्रति यात्रु भाडा कायम गरिएको भए पनि १५ सय भाडा असुलेको चौखुट्टे ट्राफिकको चेकिङका क्रममा खुलासा भएको थियो ।


यो घटना सेलाउन नपाउँदै सोमबार बाजुराबाट धनगढी गइरहेको सुनौलो सुदूरपश्चिम यातायातको ना ७ ख ९५५३ नम्बरको बसले प्रतियात्रु १६५९ भाडा कायम हुनुपर्नेमा १७५० रकम असुलेको खुलेको छ । यात्रुबाट बढी भाडा असुलेको भेटिएसँगै बसलाई आवश्यक कार्वाहि गरिएको चौखुट्टेमा कार्यरत ट्राफिक प्रहरी जनक बहादुर दानीले बताएका छन् ।

उनका अनुसार नियम विपरीत भाडा असुल्ने सवारी धनीबाट सम्बन्धी यात्रुलाई भाडा फिर्ता गराउनुका साथै अन्य जरिवाना समेत गराइएको छ । ट्राफिक प्रहरी दानीले मनपरी भाडा असुल्ने सवारी धनीबाट यात्रुलाई भाडा फिर्ता गराएको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ ।


ट्राफिक प्रहरी दानीको सक्रियताको यात्रु तथा स्थानीय सर्वसाधारणले खुलेर प्रशंसा गर्ने गरेका छन् ।

चौखुट्टेमा ट्राफिक चेकिङमा मनपरी भाडा असुलेको ३।४ पटक भेटिदा समेत अछाममा र बाजुराका बिभिन्न ठाउँमा स्थापना गरिएका अन्य प्रहरी पोस्टहरूले किन चाल पाउँदैनन् भन्ने विषय गम्भीर बनेको छ । यसले नियम विपरीत भाडा असुलीमा प्रहरी र ट्राफिकको मिलेमतो रहेको पुष्टि हुन्छ ।

यता सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता डिएसपी अनिल उप्रेतीले भने जनशक्ति अभावका कारण केहि कठिनाइ भईरहेको दाबी गरेका छन् ।

ट्राफिक प्रहरी र यातायात व्यवसायी बिच कुनै सेटिंग नरहेको दाबी गर्दै उनले त्यसो भए गरेको पाइएमा आवश्यक कार्वाही गर्ने उल्लेख गरेका छन् ।

यात्रुहरूले स्वयं आफूले गुनासो नगरुन्जेल नियमानुसार भाडा असुलेको तथा यात्रुलाई असहज भएकोबारे थाहा पाउन कठिनाइ हुने भएकाले कुनै समस्या परे नजिकैको प्रहरीलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, भिडीयो, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode