Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

क्रूर दसैँको विकल्प खोजौँ


पृष्ठमूमि
नेपाली समाजमा सरकारी तवरबाटै महत्त्वपूर्ण पर्वका रुपमा मनाइने दशैँ पर्वबारे देश गणतन्त्रमा प्रवेश गरेसँगै छिटफुट टिका टिप्पणी, छलफल÷बहस हुन थालेका छन् । राजालाई विष्णुका अवतारको रुपमा पुज्न बाध्य पारिएको हिन्दु अतिवादी सामन्त वर्गीय सत्ताले महिनौँसम्म दसैँको नाममा तामझामका साथ उत्सव मनाउँथ्यो भने आम गरिखाने नागरिकले ऋण गरेरै भए पनि उक्त पर्व मनाउनु पर्ने बाध्यात्मक अवस्था थियो । दशैँ त के राज्यसत्ताले मान्यता दिएका कुनै पनि चाडपर्वबारे टिका टिप्पणी गर्ने छुट थिएन । हरेक राज्यसत्ताले सामाजिक, साँस्कृतिक पर्वहरूलाई सत्ता रक्षाको निम्ति धार्मिक आवरणमा ढाल्दै आएको इतिहास हामी पढ्न पाउँछौँ । राज्यसत्ताले जतिसुकै प्रयत्न गरे पनि समयको प्रवाहलाई रोक्न सक्ने कुरै थिएन र छैन पनि । परिणामतः मानव समाजको विकासक्रमसँगै हरेक संस्कार, संस्कृतिहरू निर्माण, विकास र रूपान्तरणको चरण पार गर्दै यहाँसम्म आइपुगेका हुन् ।

हामी बाँचेको संसारमा मानव समाज, प्रकृति र ब्रह्माण्डबारे अध्ययन गर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने दुई थरी विश्व दृष्टिकोण छन् अध्यात्मवादी र भौतिकवादी विश्व दृष्टिकोण । अध्यात्मवादी विश्व दृष्टिकोणले चेतनाको उपज वस्तु ठान्छ भने भौतिकवादी विश्व दृष्टिकोणले वस्तुको उपज चेतना ठान्छ । यसबारे ऐतिहासिक कालदेखि आजसम्ममा महान् सिद्धहस्त दार्शनिकहरूले विषद व्याख्या गरेका छन् । यो सानो आलेखमा दर्शनशास्त्रका विहङ्गम पाटा पक्षको व्याख्या, विश्लेषण नभई वर्तमान नेपाली समाजका धार्मिक, साँस्कृतिक चाड मध्ये कुरूपता तिर अग्रसर हुँदै गरेको सबैभन्दा महान् भनिने दसैँका विकृत पक्षको आलोचना सँगै विकल्प सहितको रूपान्तरणबारे सामान्य चर्चा गर्ने प्रयास गरिनेछ । माथि उल्लेख गरिएझैँ अध्यात्मवादी अर्थात् ईश्वरको अस्तित्व स्वीकार गर्ने शासकहरूका अनुसार दशैँ परापूर्व कालमा मानवहरू माथि दानवहरूको अन्याय अत्याचारको श्रृङखला बढ्दै जाँदा ईश्वरले देवीको रूप धारण गरी दानवसँग ठुलो लडाइ गरी दानवहरूको वध गरेको दिनलाई विजयको प्रतिकको रुपमा दशैँ मनाउने गरिन्छ । उक्त समयमा दानवहरूले देवीसँग लड्न राँगाको रूप धारण गरि लडेकोले आजपर्यन्त राँगालाई बली दिएर देवीलाई खुसी पार्न पाउनु पर्ने तर्क उनीहरूको छ ।

यो मिथक हिन्दु सम्प्रदायमा शतप्रतिशत लागु भएको देखिन्छ । त्यसै गरी भौतिकवादी अर्थात् ईश्वरको अस्तित्व अस्वीकार गर्नेहरूको दृष्टिमा (हुन त भौतिकवादी दृष्टिकोणको अस्तित्व देखावटी रूपमै भए पनि स्वीकार गर्न लागिएको २०औँ शताब्दीका महान् दार्शनिक कार्ल मार्क्सको उदय पछाडी मात्रै हो) हरेक धार्मिक चाडपर्वहरू शासकवर्गका रक्षाकवच मात्र हुन । निःसन्देह मानव सामाजिक प्राणी हो र ब्रह्माण्ड भरी रहेका असङ्ख्य प्राणीमध्ये सर्वश्रेष्ठ पनि हो । हामीले विचरण गरिरहेको समाज, संस्कृति र प्रकृति प्रतिको सबैभन्दा बढी जिम्मेवार पनि उ नै हो । तसर्थ उसले आफूसँग भएको असीमित क्षमतालाई प्रयोग गर्दै समाजलाई हिजोभन्दा आज र आजभन्दा भोली कसरी समृद्ध अनि सुखी भइन्छ भनी चिन्तन मनन गर्न आवश्यक छ । त्यसैले त हिजोका हरेक कुराहरू आज लोप हुँदै, विकास हुँदै र रूपान्तरित हुँदै आएका छन् । यदि सबै कुराको विकास र रूपान्तरण आवश्यक छ भने मानव समाजसँग अभिन्न रूपले जोडिएका संस्कार र संस्कृतिहरू पनि समयानुकूल रूपान्तरण हुन आवश्यक छ । मेरो निष्कर्ष दशैँ मनाउनै पाइन्न वा दशैँ मनाउनै पर्छ भन्नेतिर कदापि छैन । आफू बाँचेको समाजमा विद्यमान हरेक विकृति र विसंगति प्रति प्रश्न उठाउन नसक्ने के युवा ? के बौद्धिक ? के अगुवा ? के सचेत नागरिक ? के अध्यता ? हो आज हामीले मनाउँदै आइरहेको नेपालीको महान् चाड भनिने दसैँलाई अव भने रूपान्तरण गर्ने पर्छ ।

धर्म निरपेक्ष राज्यमा सर्वधर्म समभावको नीति अख्तियार नगरी हिन्दु धर्मावलम्वीहरुलाई मात्रै विशेष सुविधा प्रदान गरिएको बारे विभिन्न सरोकारवाला, अभियन्ता र सचेत नागरिकका चर्को आलोचना पछि करिब १ महिना सम्मको सार्वजनिक विदालाई सरकारले घटाउँदै लगेको छ यो पनि रूपान्तरणको एक चरण हो । यसको स्वागत गर्नै पर्छ । यति कुरा भन्दै गर्दा सामन्तवादी धार्मिक रुढीवादी मित्रहरूले मेरो सत्तोसराप नगर्लान् भन्न सक्दिनँ । तथापि दसैँको नाममा गरिने कुकृत्य अन्त्यको लागि म हिजो पनि बोलेकै छु आज पनि बोल्छु र भोली पनि बोलिरहने छु । २१औँ शताब्दीको हाम्रो पुस्ता मङ्गल ग्रहमा मानव वस्ती बसाउने तयारी गर्दैछ । एकछिन आफूलाई आफै साक्षी राखेर प्रश्न गरौँ त । आजको समयमा के हाम्रा चाडपर्वको औचित्यता माथि प्रश्न गर्नुपर्ने बेला भएको छ कि छैन ? आफ्नो श्रीवृद्धि र भगवान् खुसी बनाउने नाममा क्रूर तरिकाले पशुबली दिएर विजयादशमी मनाउनु जायज छ ? त्यो पनि लखेटी लखेटी पशुको बलि दिने ? त्यसमा अझ हर्ताकर्ता नै पढेलेखेका युवाहरू, सत्ताका मालिकहरू, क्रान्ति नायक भनिनेहरु ?

आजमात्र अनुहार पुस्तिकामा एउटा भिडियो देखेँ । एउटा कुनै मन्दिरमा एउटा राँगोको पिठ्यूँमा आगो लगाइएको छ, वरिपरीको मानवरूपी दुइखुट्टे प्राणीहरू खित्का छोडेर हाँस्दै विजयादशमी मनाइरहेछन् । कुन चैँ भगवान् हो जसले एउटाको हितमा अर्काको बलि माग्छ ? अलिकति समाज, संस्कृतिबारे अध्ययन गरेको, बुझेको आजको नयाँ पुस्ताले कुनै पनि हालतमा दसैँको नाममा हुने क्रूरताको समर्थन गर्न सक्दैन । खासगरी सेती महाकालीका गाउँवस्तीमा राँगोलाई लखेटी लखेटी क्रूर तरिकाले मारेर मनाउने दसैँको अव सशक्त ढंगले विरोध गर्नैपर्छ । मानव अधिकार सँगै पृथ्वीमा विचरण गर्ने हरेक प्राणीको अधिकार रक्षाको निम्ति चेतनशील प्राणी भएको नाताले सोच्नु पर्ने दायित्व छ । किन कि विकासका बहु-आयामिक पक्ष मध्ये मानवीय विकास, पर्यावरणीय विकास पनि एक हो । दशैँ पर्वको उद्भव, विकास र आवश्यकता माथि फेरि पनि बहस गरौँला आज मेरो मुख्य जोड हो क्रूर तरिकाले गरिने पशु बलिको अन्त्य । अच्चम लाग्छ । जनयुद्धका कमाण्डरहरुका क्रियाकलाप देखेर । यीँ तिनै हुन् जसले जनयुद्ध कालमा गाउँ-गाउँका धामीहरूका टुप्पी काट्दै थान, मन्दिरहरू भत्काएर हाल सहर बजारमा घर घडेरी जोडे र सानको जीवन जिउँदै छन् । र आज टोल टोलमा स्कुलको साँटो मन्दिर बनाउँदै छन्, विपन्न नागरिकको वास्ता छैन दसैँका नाममा लाखौँ रकमको राँगाको बलि दिँदै छन्, भगवान् खुसी पार्न, विगतको पाप मोचन गर्न ५० औँ के.जि.का घण्टहरू चढाउँदै छन् । हो दसैँको यस्तै क्रूर पक्षको हो विकल्प चाहिएको हामीलाई ।

निष्कर्ष

दसैँले वर्षभरी घरदेखी टाढा रहेका आफन्तहरूको जमघट गराउँछ, पूर्वीय दर्शन अनुसार घरको ज्येष्ठ सदस्यलाई अभिभावकको रुपमा ग्रहण गर्दै आदर, सत्कार र अभिभावकवाट माया, आर्शिवाद, सद्भाव बाँड्दछ, काम, आराम र मनोरञ्जनको नियमलाई आत्मसाथ गर्छ, आदि तमाम सकारात्मक पक्षहरू समेत दसैँमा छन् । त्यस कारण पुराका पुरा दशैँ चाड नै मान्नु हुन्न भन्ने धारणा कसैले राख्छ भने त्यो सरासर गलत हो । अब कसरी के आधारमा खोज्ने त दसैँको विकल्प ? अर्थात् दसैँको रूपान्तरण कसरी हुन्छ ? प्रथमतः स्थानीय सत्ताको जनमुखी चेत हुन आवश्यक छ । यदि दसैँका क्रूर पक्षको साँच्चिकै रुपान्तरण गर्ने हो भने आगामी वर्षदेखि कार्यान्वयन गर्ने गरी स्थानीय सत्ताले पहलकदमी लिन आवश्यक छ । ठिक छ सदियौँ देखि मनाउँदै आएको चाडपर्व माथि बन्देज लगाउन मिल्दैन र लगाउनु पनि हुन्न । उसो त देशको संविधानले नै हरेक नागरिकले स्व:स्फूर्त रुपमा मन लागेको धर्म मान्न पाउनु पर्ने व्यवस्था गरेकै छ । आफ्नो उन्नती, प्रगतिको लागि भगवान् खुसी पार्न वर्षेनी लाखौँको रकम एउटा वडामा खर्च हुन्छ ।

भगवानप्रति आस्था राख्ने व्यक्तिलाई स्थानीय सत्ताको पहलकदमीमा देवीको नाममा चढाउने राँगा वा खसी, बोकाको मूल्य बराबरको रकम सम्बन्धित गाउँको मन्दिर वा शक्तिपिठमा त्यही शक्तिपिठकै नाममा चढाउन लगाउने । प्रतिकको रुपमा अन्य फलफूलहरूको बलि दिने । जस्तै आजकल गाउँमा मृतकहरूको नाममा गरिने क्रियाक्रममा बाहुनलाई गाईको सट्टा पैँसा दिन्छन् गाइको प्रतिकको रुपमा गाइको गोबरबाट गाई बनाइन्छ । आखिर सत्य कुरा त्यो पनि त कर्मकाण्ड नै हो ओर्जीनल गाई दिऔँ वा गोबरको गाई त्यसले आत्माको मुक्ति असम्भव छ । गाइको सट्टा पैसा तिरेर गोबर राख्न मिल्छ भने देवीकै नाममा पैसा चढाइसकेर फलफुलको बलि दिन किन नमिल्ने ? अवश्य मिल्छ । देवीका भक्तहरूबाट चढाएको रकम एउटा कोष बनाइ सदुपयोग गर्ने । आगामी वर्षदेखि सेती महाकालीका हरेक स्थानीय सत्ताले यो आँट गर्न सके कति जाति हुन्थ्यो ? क्रूर दसैँको विकल्प खोजौँ हरेक सामाजिक, साँस्कृतिक पर्वहरू समयानुकूल रूपान्तरण गर्दै मनाऔँ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode