Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका किसानहरू पशु बिमाप्रति आकर्षित : गाउँपालिका सरकार उदासीन


बान्नीगढी जयगढ गाउँपालिकाका कृषकहरू पशु बिमा कार्यक्रमप्रति आकर्षित हुन थालेका छन् ।

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार पालिकाका ६ वटै वडाका कृषकहरू बिमा कार्यक्रमप्रति आकर्षित हुँदै गएका हुन् । हाल पालिकामा पशु बिमा गराउनेको संख्या बढ्दै गएको पशु सेवा शाखा प्रमुख हर्क बहादुर शाहीले बताएका छन् ।

शाहीका अनुसार पालिकाका २ सय बढी कृषकले पशु बिमा गराएका छन् । बिमा कार्यक्रममा सहभागी हुनेमा अनुदानका कार्यक्रम अन्तर्गत,अनुदान बाहिर तथा सहकारीमा आबद्ध कृषकहरू रहेका छन् ।

विगतमा पशु बिमा गराएका कृषकहरूले क्षति भएमा बिमांक रकमको ८० प्रतिशत पाउँदै आएकोमा हाल शत प्रतिशत बिमांक लाभको व्यवस्था गरिएको छ ।

कृषकहरूलाई आइपर्ने जोखिम न्यूनीकरणका लागी बिमा कार्यक्रममा सहभागिता बढाउने उद्देश्यले सरकारले बिभिन्न कार्यक्रममा जोड दिएको शाहीको भनाई छ ।

बिमा कार्यक्रमबारे कृषकहरू सुरुमा अन्यौलमा रहे पनि पछिल्लो समयमा ढुक्कले बिमा गर्न उत्साहित हुने गरेको शाखा प्रमुख शाहीले बताएका छन् । बिभिन्न कारणले पशुहरू मरेपछि बिमा बापतको क्षतिपूर्ति पाउन थाले सँगै कृषक यसमा आकर्षित हुन थालेका उनको भनाई छ ।

शाखा प्रमुख शाहीका अनुसार आफ्ना पशुको बिमा गराउन अहिले कृषकहरू कार्यालय सम्म स्वयम आउने गरेको छन् ।

बिभिन्न प्रकोप तथा जंगली जनावरको आक्रमण लगायतका कारणले पशु धनको क्षति हुने भएकाले क्षति न्यूनीकरण र व्यवसाय सबलीकरणका लागी समयमै पशु बिमा गर्न उनले आग्रह गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकाले पशुपालन तथा कृषि व्यवसायलाई प्राथमिकतामा राख्दै स्वरोजगारका कार्यक्रम अघि सार्नेबारे चर्चा गर्ने गरेको भए पनि पशु बिमा कार्यक्रमका लागी कुनै पनि कार्यक्रम तथा बजेटको व्यवस्था भने गरेको छैन ।

गाउँपालिका सरकारले पशु बिमा कार्यक्रमलाई अगाडी बढाउनेबारे वास्ता नगरे पनि पशु सेवा शाखाले आवश्यक सचेतनाका कार्यक्रममा जोड दिएको शाखा प्रमुख शाहीको भनाई छ ।

कुराकानी : हर्क बहादुर शाही


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode