Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा यस्तो बिजोक : ढोल सुशासनको पिट्ने, छैन नागरिक वडापत्र


बान्नीगढी जयगढ गाउँपालिकाले समृद्धिको आधार सुशासन लाई मानेको छ । बाइसे चौबिसे कालको अछाम राज्यको मुकाम समेत रहेको पालिकाले समृद्धिसंग सुशासन लाई जोडेर प्रचारप्रसार सुरु गरेपछि बान्नीगढीको फेरि चर्चा सुरु भएको छ ।

अछामका १० वटा पालिका मध्य सानो र चिटिक्क भूगोल मिलेको बान्नीगढी जयगढ गाउँपालिका जनसंख्याका हिसाबले पनि सानो छ । तर पालिका सरकार बाट बेलाबेला हुने चटकका कारण बान्नीगढी चर्चाका हिसाबले निरन्तर पहिलो छ । पछिल्लो पटक बोलीमा सुशासन भन्ने तर सुशासनको लागि सिन्के नभाँच्ने नेतृत्वको कार्यशैली पालिका बाहिर र भित्र चर्चामा रहेको छ ।

सार्वजनिक कार्यक्रम होस वा कुनै सभा सम्मेलन गाउँपालिकाको बागडोरमा रहेकाहरूले भाषणमा भन्ने सुशासन पारदर्शीता र व्यवहारमा गरिने कुशासन र अपारदर्शीताले गर्दा पालिका भित्र मात्र होइन जिल्लामा पनि चर्चामा पहिलो स्थान ओगटेको छ ।

जिल्ला सदरमुकाम मंगलसैन र प्रमुख व्यापारी केन्द्र साँफेबगरको बिचमा सेतु सरह रहेको पालिकामा सुशासनको गफ सुनेर निजामती कर्मचारी,शिक्षक लगायतका अरू कर्मचारीको सरुवाको लागि पहिलो रोजाइमा बान्नीगढी गाउँपालिका पर्छ । आउँदा खुसी हुने कर्मचारीहरू पालिका कार्यालय भित्रको बेथिति देखेपछि दिक्क मानिरहेका हुन्छन् ।

सार्वजनिक कार्यक्रममा गाउँपालिकाको बागडोरमा रहेकाहरूको भाषणमा सुशासन र पारदर्शीताको कुरा खुब सुनिन्छ । तर व्यवहारमा भने सुशासन र पारदर्शीताकाको कुरा सुन्न चाहँदैनन् ।

सुशासन र पारदर्शीताको पहिलो सर्तको रुपमा हरेक सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीको सजिलोका लागि नागरिक बडापत्र हुनुपर्छ । कानुनमा व्यवस्था भए अनुसारको सार्वजनिक निकायहरूले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता जयगढ गाउँपालिकामा राखिएको छैन ।

जिल्लामा नागरिक बडापत्र नभएको पालिका बान्नीगढी जयगढ मात्रै हो अधिकार र सुशासनको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाका अधिकारीले भने ।

सार्वजनिक सेवा प्रवाहमा राज्यको मालिक भनेका सार्वभौमसत्ता सम्पन्न नागरिक मुलुकका अरू सहित बान्नीगढी जयगढका नागरिक पनि हुन । तर प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानुनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायहरूमा पारदर्शिताको प्रवर्द्धन गर्ने , सरकारी काम कारवाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने उद्देश्यले राखिने नागरिक बडापत्र राख्न सुशासनको भाषण गर्नेहरूले नै कन्जुस्याइँ गरेका छन् ।

गाउँ कार्यपालिका कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि,सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र सेवा प्राप्त गर्न लाग्ने कुनै दस्तुर सम्बन्धित जानकारी , सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम लगायत उल्लेख गरेर राख्नुपर्ने नागरिक बडापत्र नहुँदा सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।

पालिका भित्र हुने सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावले सुशासन र पारदर्शिताको दुहाई दिइरहेको सुनिन्छ । गैरसरकारी संस्थाको पृष्ठभूमि बाट आएका कांग्रेस बाट निर्वाचित अध्यक्ष साउद र एमाले बाट उपाध्यक्षमा निर्वाचित रावलको कुरा सुरुवातमा बान्नीगढी जयगढ बासिले नपत्याएका पनि होइनन् ।

सुशासनको अनुयायी बनेर पारदर्शीताको ढोल पिट्ने अध्यक्ष , उपाध्यक्षले नागरिक बडापत्र सम्म नराखेर आफू हरु सुशासन र पारदर्शिताप्रति न्यूनतम पनि जवाफदेहि नरहेको पालिकावासी लाई व्यवहारले प्रस्ट पारेका छन् ।

एक जना सेवाग्राहीले भन्नुभयो कानुनमै व्यवस्था गरिएको सुशासनको पहिलो सर्त मानिएको नागरिक बडापत्र सम्म राख्न नसक्ने नेतृत्वको कार्यशैली कस्तो छ र आगामी दिनमा कस्तो हुनेछ भन्नेमा हामी प्रस्ट भैसकेका छौ । उहाँले कुराकानीका क्रममा नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो – बान्नीगढी जयगढका अध्यक्ष , उपाध्यक्षको सुशासन अनि पारदर्शिताको बोली र व्यवहारमा नागरिक बडापत्र नराख्ने शैली हात्तीको देखाउने र चपाउने दाँत जस्तै हो ।

भाषणमा सुशासनका कुरा मात्रै गर्ने अनि व्यवहारमा नागरिक वडा पत्र सम्म राख्न नसक्ने गाउँपालिका नेतृत्वको बोली र व्यवहारमा कत्ती पनि नमिलेको तालमेलले जग हसाउने काम मात्र गरेको छ । सुशासन (व्यवस्थापन तथा संचालन ) ऐन २०६४,सुशासन (व्यवस्थापन तथा संचालन ) नियमावली २०६५ मा भएको व्यवस्था अनुसार सुशासनको पहिलो तथा अनिवार्य शर्तका रुपमा नागरिक वडा पत्रलाई अघि सारिएको छ भने सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकायले अनिवार्य रुपमा नागरिक वडा पत्र सेवाग्राहीले सहज रुपमा देख्ने गरि टाँस्नु वा राख्नुपर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक सेवाहरूलाई चुस्तदुस्त परिणाममुखी बनाउने उद्देश्यका साथ क्षतिपूर्ति सहितको नागरिक वडा पत्रको व्यवस्था भइसकेको भए पनि सुशासन र पारदर्शिताको ढोल पिट्ने बान्नीगढी जयगढ गाउँपालिकाले भने गाउँपालिका कार्यालय स्थापना भए देखी हालसम्म नागरिक वडा पत्र समेत राखेको छैन ।


कार्यालयबाट प्रवाह हुने दैनिक प्रशासनिक तथा अन्य सेवाहरूलाई छिटो छरितो,पारदर्शी,मितव्ययी प्रभावकारी र गुणस्तरीय रुपमा प्रदान गर्नु गराउनु कार्यालय प्रमुखको प्रमुख दायीत्व हुने भए पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना भने कानुनमै व्यवस्था भएको नागरिक वडा पत्र गाउँपालिकामा राख्नुपर्नेमा बेखवर जस्तै देखिन्छन् ।

यही भाद्र १८ गते बान्नीगढी जयगढ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका ढुंगानाले गाउँपालिकाको स्वागत कार्यक्रममा सुशासन र पारदर्शिताको मामलामा कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यालयमा नागरिक बडापत्र नहुँदा सेवाग्राही रनभुल्ल पर्ने गरेको बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले छिट्टै कार्यालयमा नागरिक बडापत्र राखिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू केहि साता अघि मात्रै पालिकामा आएको र नागरिक वडा पत्र राख्ने कुरालाई प्राथमिकतामा राखेको बताउँदै उनले छिट्टै नागरिक वडा पत्र राख्ने बताएका हुन् ।


क्याटेगोरी : पश्चिम खोज, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode