Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रामारोशन गाउँपालिका

सेवा सुविधा कटौतीको निर्णय विरुद्ध कर्मचारी आन्दोलित : अध्यक्ष र उपाध्यक्ष भन्छन् कुनै निर्णय भएकै छैन


रामारोशन गाउँपालिकाका करार कर्मचारी आन्दोलित भएका छन् ।

करार कर्मचारीले यस अघि बुझ्दै आएको सेवा सुविधा तथा पारिश्रमिक रकम घटाउने पालिकाको निर्णय विरुद्ध उनीहरू आन्दोलित भएका हुन् ।

बिभिन्न माग सहित आन्दोलित भएका करार कर्मचारीले गाउँपालिकाको सेवा अवरुद्ध गर्नुका साथै मुजाबगरमा र्‍याली प्रदर्शन गरेका छन् ।

करार कर्मचारी संघर्ष समितिका अनुसार गत असार ८ गतेको गाउँ कार्यपालिकाको बैठकले पालिकामा कार्यरत करारका कर्मचारीको सेवा सुविधा घटाउने निर्णय गरेको थियो ।

विगतमा करारका पाँचौँ तहका कर्मचारीले ३४ हजारसम्म,चौथो तहका कर्मचारीले ३१ हजारसम्म र कार्यालय सहायकले २२ हजारसम्म मासिक तलब बुझ्दै आएकोमा पाँचौँ तहका कर्मचारीलाई २२ हजार,चौथो तहका कर्मचारीलाई २१ हजार र कार्यालय सहायकलाई १६ हजार मासिक रुपमा दिने निर्णय गरिएको भन्दै करार कर्मचारी आन्दोलित छन् ।

शुक्रवार बिभिन्न माग सहित ज्ञापन पत्र बुझाएको संघर्ष समितिले हिजो आइतबार र सोमवार अत्यावश्यक सेवा बाहेक गाउँपालिका,वडा कार्यालय,स्वास्थ्य संस्था र सामुदायिक स्वास्थ्य कार्यक्रमको सम्पूर्ण सेवाहरू अवरुद्ध गराएका छन् भने आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन् ।

यता गाउँपालिकाले भने करार कर्मचारीको सेवा सुविधा कटौतीका बिषयमा कुनै पनि निर्णय नभएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले करार कर्मचारीको सेवा सुविधाका बिषयमा कुनै पनि निर्णय नगरिएको बताएको हो ।

गाउँपालिका अध्यक्ष मान बहादुर साउँदद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ गाउँ सभाले पास गरेर मात्र कार्यान्वयन गर्नुपर्ने विषय अनावश्यक बनाई पालिकामा तालाबन्दी गर्ने कुरा निन्दनीय छ । राष्ट्रसेवक कर्मचारीको हैसियतबाट यो सम्मको कार्य गर्नु अनुशासनको पनि उलंघन हो ।

यस्तै विज्ञप्ति मार्फत गाउँपालिका अध्यक्ष साउँदले जनतालाई असुविधा हुने गरी गरिएका तालाबन्दी तत्काल खोली आफ्नो कार्यमा फर्कन सम्पूर्ण करार कर्मचारीलाई निर्देशन दिएका छन् ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष सिर्जना बुढाले सामाजिक संजाल फेसबुक मार्फत करार कर्मचारीको सेवा सुविधाका बिषयमा कुनै पनि निर्णय नभएको दाबी गरेकी छन् ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode