Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रामारोशन गाउँपालिका

उपाध्यक्षले ९ महिनामा ३८ वटा टिए डिए बुझिन् : सामाजिक संजालमा आलोचना


रामारोशन गाउँपालिकाका जनप्रतिनिधिले टिए डिए अर्थात् दैनिक भ्रमण भत्ता रकम बुझेको विषयले केही दिन यता सामाजिक संजालमा आलोचित भइरहेको छ ।

पालिकाका सामाजिक तथा राजनीतिक दलका अगुवाहरूले गाउँपालिकाका एक जनप्रतिनिधिले ९ महिनाको अवधिमा ३८ वटा टिए डिए ( दैनिक भ्रमण भत्ता ) बुझेको विषयमा सामाजिक संजालमा प्रश्न गरेका थिए ।

सार्वजनिक समीक्षाका क्रममा गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सबै भन्दा बढी अर्थात् ३८ वटा टिए डिए गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाले बुझेको खुलासा भएको थियो ।

सामाजिक संजालमा जनप्रतिनिधिले बुझेको टिए डिए का विषयमा विभिन्न टिका टिप्पणी हुन थाले पछि यस विषयमा रेडियो बान्नीगढीले सम्बन्धित निकायबाट जवाफ खोज्ने क्रममा सामाजिक संजालमा आलोचित बनेको विषय सही रहेको पाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले ९ महिनाको अवधिमा गाउँपालिकाका उपाध्यक्ष सिर्जना बुढाले ३८ वटा टिए डिए बुझेको खुलासा गरेका छन् ।

अधिकृत भण्डारीका अनुसार गाउँपालिकाका विभिन्न योजनाको अनुगमन,विभिन्न कार्यक्रममा सहभागिता लगायतका काममा सहभागी भए बाफत उपाध्यक्ष बुढाले ३८ वटा टिए डिए बुझेकी हुन् ।

सामाजिक संजालमा दाबी गरिए जस्तो सबै टिए डिए सातै दिनको भने नभएको उनको भनाई छ ।
कुराकानी राम बहादुर भण्डारी

सुदूरपश्चिम प्रदेश सरकारद्वारा जारी गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन,२०७५ अनुसार गाउँपालिकाका उपाध्यक्षले भ्रमण भत्ता बाफत प्रतिदिन १ हजार ६ सय रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।

दैनिक भ्रमण भत्ता बाफतको सुविधा लिएको विषयमा सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भइरहँदा गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाले भने आफ्नो क्षेत्राधिकार भित्रका विभिन्न कार्यक्रम र अनुगमनमा सहभागी भए बाफत नियमानुसारको सुविधा लिएको दाबी गरेकी छन् ।

आवश्यकता र औचित्य पुष्टि हुने र नियम विपरीत आफूले कुनै पनि सुविधा नलिएको उनको भनाई छ ।

अनुगमन,न्याय सम्पादन लगायतका जिम्मेवारी उपाध्यक्षलाई बढी भएको र सो अनुसारका काम गर्दा दैनिक भ्रमण भत्ता बढी देखिए पनि नियम विपरीत कुनै पनि भुक्तानी नलिएको दाबी गर्दै उनले भ्रममा नपर्न आग्रह गरेकी छन् ।

आफूले लिएको दैनिक भ्रमण भत्ताका विषयमा कुनै आशंका भएमा गाउँपालिकामा आवश्यक प्रक्रिया पुरा गरी सूचना लिन उनले अनुरोध गरेकी छन् ।

 


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode